काठमाडौँ । तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । फिल्म आउँदो ७ कात्तिकदेखि प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको रहेको फिल्मका लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।
उनले हने, ‘वितरकसँग छलफल गरेर प्रदर्शन तय गरेका हौँ । नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पूरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौँ । फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स–परिवार हलमा गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दै छौँ ।’
नेपालको गोरखामा ३६ दिन छायांकन भएको र यही १० वैशाखमा भारतको मुम्बईमा बाँकी छायांकन गरिने निर्देशक घिमिरेले जानकारी दिए । ‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनील थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए ।
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरेका छन् ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदै छन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
यसमा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सहनिर्माता रहेको फिल्म नेपालमा वैंकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेसनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।
प्रतिक्रिया