काठमाडौँ । युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली ओमानलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै दोस्रो स्थानमा रहेको नेपालले २ खेलबाट ४ अंक पु¥याएको छ ।
नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट ५ रनले हराएको थियो । ओमानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।
ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई लगातार दोस्रो जित दिलाउन ओपनर नीरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए । ३१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर साहिल पटेलले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
यी २ बीच पहिलो विकेटका लागि ८५ रनको विशाल साझेदारी भएको थियो । नीरज ९ दशमलव ६ ओभरमा सौम्य भाविनको बलमा वर्षित साईबाट क्याच भए । साहिल भने १३ दशमलव ३ ओभरमा नेपालको स्कोर बोर्डमा १०६ रन हुँदा सौम्यकै बलमा हेमा रमेशबाट क्याच आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान नरेन भट्टले १२ र सन्तोष यादवले १० अविजित रन बनाउँदै नेपालको जित पक्का गरे । ओमनका सौम्यले दुवै विकेट लिए । ६ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार गरेको थियो ।
ओमानका जित बज्रेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ४ चौकासहित ५२ रन बनाए । उनको उत्कृष्ट पारीले ओमानलाई पहिलो जित दिलाउन भने सकेन । ओपनर सिद्धार्थ शंकरले १६ र हेमा रमेशले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओमानलाई सस्तैमा रोक्न नेपालका युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले २ मेडनसहित १५ रन खर्चिए । सन्तोषको नाममा २ विकेट रहँदा दयान्द मण्डल, अपराजित पौडेल र अशोक धामीको नाममा समान १–१ विकेट रह्यो । जारी प्रतियोगितामा नेपाल र ओमानसहित अफगानिस्तान, युएई, र हङकङ सहभागी छन् । यस छनोटमा शीर्ष २ मा रहने टोली आगामी वर्षको यु–१९ विश्वकपमा छनोट हुनेछन् ।
प्रतिक्रिया