पाठक पत्र

मापदण्डविपरीत सञ्चालन हुँदै उपत्यकाका बसपार्क

बसपार्क सञ्चालनको निम्ति सरकारले मापदण्ड बनाएको छ । जसमा घनाबस्तीको बीच बसपार्क राख्न नपाइने, एउटा पालिकाभित्र २ वटा बसपार्क सञ्चालन गर्न नपाइने, खुल्ला ठाउँ चाहिनेलगायत बसपार्क निर्माणको आधारभूत मापदण्ड हुन् । तर, मापदण्डको धज्जी उडाउँदै काठमाडौँ महानगरपालिकाभित्र ४ वटा बसपार्क सञ्चालन गरिएको छ ।

महानगरले रमिता हेर्नेबाहेक कुनै कदम चाल्न सकेको छैन् । एउटा बसपार्क जडीबुटीमा छ । पूर्व अरनिको यातायात प्रालिले सञ्चालन गरेको सो बसपार्क एकाध रोपनी जग्गामा निर्माण भएको छ । त्यसमा पनि सटरहरू बनाएर भाडामा लगाइएको छ । जडीबुटीको बसपार्क घना मानव बस्तीको बीचमा छ ।
यता, गोंगबुमा सञ्चालित नयाँ बसपार्कको कुल जग्गा १६१ रोपनी छ । जसमध्ये ६१ रोपनीमा बसपार्क फैलिएको छ भने बाँकी जग्गामा भवन ठड्याइएको छ । त्यहाँ होटल, रेस्टुरेन्ट, गेस्टहाउस सञ्चालन भइरहेको छ । धेरै जमिन हिनामिना भइसकेको छ । राजनीतिक दल, तिनका कार्यकर्ताले सरकारी जग्गा दर्ता गरेर व्यक्तिको नाममा लगिसकेका छन् ।

भक्तपुरको रुटमा चल्ने गाडीको बसपार्क बागबजारमा छ । १ रोपनी जमिनमा बनेको बसपार्क घनाबस्तीको बीचमा छ । अर्को बसपार्क माकलबारीमा छ । त्यहाँबाट सिन्धुपाल्चोक जाने गाडीहरू छुट्छ । त्यो बसपार्क पनि मानव बस्तीको बीचमा बनाइएको छ । रोचक कुरा के भने, जडीबुटी र बागबजारको बसपार्कको दर्ता नै छैन ।

सरकारबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरिएको छ, त्यो पनि मान्छेको चाप भएको बस्तीको बीचमा । पालिकाबाट स्वीकृति नलिइकन टहरासमेत बनाउन पाइँदैन । तर, पूर्व अरनिकोले सरकारको मापदण्ड लत्याएको छ । २ तल्लाको संरचना बनाएको छ । एउटा सटरबाट पूर्व अरनिकोले ३० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म भाडा उठाउने गरेको छ । व्यवसायीहरू कानुन टेर्दैनन्, सरकार हात बाँधेर बस्छ ।

यता, बसपार्क निर्माणका लागिसमेत स्वीकृति लिइएको छैन । मेयर बालेन्द्र साहले अवैध बसपार्क भत्काउनका लागि डोजरसहित नगरप्रहरी लगाएका थिए । तर, अरनिकोको अध्यक्ष केदार क्षेत्रीले गुन्डा उतारेर बसपार्क भत्काउन दिएनन् । यहाँ त गुन्डाको अगाडि कानुन पनि लाचार बन्छ भन्ने कुराको पुष्ट्याइँ हो ।
यहाँ कानुन कसलाई लाग्ने रहेछ ? छर्लंग भइहाल्यो । राजनीतिक दलका झोले, गुन्डालाई कानुन केही पनि होइन । गुन्डा उतार्ने, व्यवसाय दर्ता नगर्ने अनि कर छल्ने । त्यस्तो व्यवसाय सञ्चालनमा छ तर संरचना नै गैरकानुनी छ । दर्ताबिना र राज्यको ऐनकानुन नटेरिकन सञ्चालन भएको जडीबुटीको बसपार्कले ‘जसको शक्ति, उसैको भक्ति’ ठ्याक्कै चरितार्थ भएको छ ।

पूर्वअरनिकोले रोड पनि खरिदबिक्री गर्दै आएको छ । गाडी धनीले एउटा गाडी हाल्नका लागि ७ लाख रुपैयाँ असुल्दै आएको छ । गाडीबाट दिनहुँ लेबी उठाउँछन् । नयाँ बसपार्कको ठेक्का ल्होत्सेले पाएको छ । सरकारी जग्गामा जापान सरकारले बनाइदिएको बसपार्कमा ल्होत्सेले मोजमस्ती गर्दै आएको छ ।
ल्होत्सेले लामो रुटको गाडी छिर्नेबित्तिकै १ हजार रुपैयाँ उठाउँछ । लोकल गाडीले ३०० रुपैयाँ तिर्नुपर्छ । २४ घण्टा गाडी पार्किङको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । यात्रुले काटेको प्रति टिकटबाट ल्होत्सेले ३० प्रतिशत उठाउँछ । ल्होत्सेको मासिक आम्दानी करोडौँमा छ । तर, महानगरलाई वार्षिक रूपमा जम्मा १ करोड १० लाख रुपैयाँ बुझाउँदै आएको छ ।

बागबजारको बसपार्क सरकारी जग्गामा बनेको छ । त्यो सरकारी जग्गा पनि दोहन भएको छ । त्यहाँ विभिन्न पार्टीका जनवर्गीय संगठनका भवनहरू बनेको छ । धेरै जग्गा व्यक्तिले आफ्नो नाममा लगिसकेका छन् । भवन ठड्याएर घरधनीले मासिक लाखौँ रुपैयाँ भाडा उठाउँदै आएका छन् ।


राजनीतिक दलहरू पर्दाभित्र बसेर सरकारी जग्गा कब्जा गर्ने, घनाबस्तीमा बसपार्क राख्ने, सरकारी जग्गामा भवन ठड्याएर आफू भाडा खाने अनि राजस्व छल्ने । राजनीतिक दलकै आडका कारण त व्यवसायीहरूमा मनलाग्दी गर्ने र कानुन नटेर्ने मनोबल बढेको छ । बाहिर व्यवसायी देखिए पनि भित्रबाट राजनीतिक दलले सबै प्लानिङ गरेका छन् ।

अनुषा थापा भक्तपुर

०००

भारतीय नेताको राजतन्त्र पुनस्र्थापनाबारेको वयान

भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले नेपालमा हिन्दु राष्ट्रको समर्थन गरेका छन्, तर राजतन्त्र पुनस्र्थापनाको पक्षमा आफूलाई नदेखाइएको स्पष्ट पनि पारिसकेका छन् । उनले भनेका छन् कि भारत र नेपालको धर्म, संस्कृति र संस्कार समान रहेका कारण नेपालसँगको सम्बन्धलाई बलियो बनाउन सकिन्छ । तर, राजतन्त्रको पुनस्र्थापना नेपालको वर्तमान परिप्रेक्ष्यमा एक मृत विचार हो र यसलाई पुनःस्थापित गर्ने कुनै सम्भावना छैन ।

भागवतको यस भनाइको अर्थ के हो भने, उनी हिन्दु राष्ट्रको अवधारणा स्वीकार गर्दछन्, तर राजतन्त्रको पक्षमा उनीहरूसँग कुनै समर्थन छैन । नेपालको ऐतिहासिक दृष्टिकोण र सामाजिक संरचनामा राजतन्त्रको स्थानका बारेमा हामीले गहिरो विचार गर्न आवश्यक छ । नेपालको लोकतान्त्रिक व्यवस्था स्थापनापछि, राजतन्त्रको पुनस्र्थापना एक ऐतिहासिक विषयको रूपमा सीमित भएको छ र अहिलेको सन्दर्भमा यस विषयको पुनरुत्थान सम्भव छैन ।
भागवतले नेपालको युवा वर्गमा केन्द्रित चिन्ता व्यक्त गरेका छन् । उनले नेपालका युवापुस्तासँगको सम्बन्ध विस्तार गर्ने कुरा गरेका छन्, र यसका लागि हिन्दु राष्ट्रको भावना फैलाउन चाहेका छन् । यसले स्पष्ट देखाउँछ कि भागवत नेतृत्वको आरएसएस नेपालका युवाहरूसँग भावनात्मक र सांस्कृतिक दृष्टिकोणबाट जोडिन चाहन्छ ।

यसका कारण नेपालका युवाहरूमा एक नयाँ सोच र विचारको विकास हुनेछ जसले उनीहरूको भविष्य र समग्र समाजमा गहिरो प्रभाव पार्नेछ । तर यहाँ एक गम्भीर सवाल उठ्छ, के भारतीय कूटनीति र भागवतका यी विचारहरूले नेपालमा हिन्दु राष्ट्रको अवधारणा बलियो बनाउन सक्छ ? यस प्रश्नको उत्तर जटिल छ । नेपालका युवाहरू नयाँ सोच र संस्कृतिको खोजीमा छन् ।

मोहन भागवतका भनाइलाई एक रणनीतिक दृष्टिकोणका रूपमा पनि विश्लेषण गर्न सकिन्छ । नेपाल भारतको लागि महत्वपूर्ण भू–राजनीतिक स्थान हो, र भागवतले यसबारे आफ्ना विचार राख्दै भारतको कूटनीतिक रणनीतिमा योगदान पु¥याएका छन् । भारतका लागि नेपाललाई आफ्नो प्रभावमा राख्नु आवश्यक छ, विशेष गरी चीनको प्रभाव वृद्धि हुँदै गएको परिप्रेक्ष्यमा । भागवतको भनाइले यस अर्थमा भारतीय कूटनीतिक हितमा योगदान पु¥याएको छ ।

भारतको चिन्ता यो हो कि नेपालमा चीनको बढ्दो प्रभावले भारतको दक्षिण एसियामा प्रभुत्व घटाउन सक्छ । त्यसैले, भागवतले नेपालमा हिन्दु राष्ट्रको भावना फैलाउन र नेपालका युवाहरूलाई भारतीय संस्कृतिसँग जोड्नका लागि यसलाई एक कूटनीतिक चालको रूपमा प्रयोग गर्दैछन् ।

मोहन भागवतको वयानले नेपालमा एक महत्वपूर्ण सामाजिक र राजनीतिक बहसको थालनी गरेको छ । उनका शब्दहरूले नेपालको राष्ट्रिय अस्मिता र सामाजिक संरचनामा गहिरो प्रभाव पार्ने सम्भावना राख्छ । नेपालका लागि यो एक चुनौतीपूर्ण घडी हो, जहाँ नेपाली नागरिकहरूले आफ्नो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पहिचानलाई बचाउनका लागि संघर्ष गर्नु पर्नेछ ।

यद्यपि, यो समय नेपालका युवापुस्ताले आफ्नो भविष्यका बारेमा गम्भीर सोच र योजनाहरू बनाउने अवसर पनि हो । नेपालका युवा अब केवल पारम्परिक परिपाटी र विचारलाई मात्र चुनौती दिनुपर्ने छैन, बरु आफूहरूको स्वतन्त्रता र भव्यताको पथमा क्रान्तिकारी कदम चाल्नुपर्नेछ ।

नेपालको भविष्य केवल नेपाली नागरिकका हातमा छ, र यो समय हो, जब हामी सबैले हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको संरक्षणका लागि एकजुट हुनुपर्छ ।

कृष्ण लामा रुम्बा रामेछाप , हाल काठमाडौँ ।

प्रतिक्रिया