पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति एमालेले जनायो आपत्ति

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजा शाहले गत चैत १५ गते तीनकुनेमा हिंसात्मक राजावादी आन्दोलन र नयाँ वर्षको अवसरमा आइतबार दिएको भिडियो सन्देशप्रति एमालेले आपत्ति जनाएको हो ।

सोमबार बसेको पार्टी सचिवालयको बैठकले आइतबार पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ, उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौँ, जुन गलत भयो,’ ज्ञवालीले भने ।

तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश भएकाे छ,’ उनले भने । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो,’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो । त्यसो भएको हुनाले यस्ता खाले कुनै पनि क्रियाकलाप नगर्नका निम्ति हामीले उहाँलाई भनेका छौँ ।’

एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ । ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अबाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन् । त्यस्तो कुरा नहोस् भन्ने प्रष्ट पार्ने काम बैठकले गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने ।

त्यसैगरी एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको हो ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ, यसले उहाँमा सरकार बाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’

तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए ।

प्रतिक्रिया