काठमाडौं । घरेलु मैदान मुलपानीमा जारी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको छ । नेपालले यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले नेपाललाई जितका लागि ११८ रनको सामान्य लक्ष्य दिएको थियो । जितको लागि ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएरसहजै पूरा गर्यो ।
नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यो साझेदारीमा नेपालले आरामदायी जित निकालेको हो ।
निरज अर्धशतकबाट मात्र ४ रनले चुके । ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए । उनलाई सौम्य भविनसम्पतले आउट गरे । त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए । कप्तान नरेन भट्ट अविजित १२ रनमा नटआउट रहे ।
यसअघि माथिल्लो मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अलआउट हुँदै ११७ रनना समेटिएको थियो ।
ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले अर्धशतक प्रहार गरे । ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन बनाए । सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए ।
ओमानका खेलाडीहरूले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् । ओमानलाई निराशा बनाउन नेपालका खेलाडी युवराज खत्रीले सानदार बलिङ गरे । ७ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र १५ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सन्तोष यादवले २ विकेट लिए ।
नेपालले लगातारको दोस्रो जितमा ४ अंक बनाएको छ । नेपालले हिजो आइतबार पहिलो खेलमा युएईलाई डकवर्थ–लुइसको आधारमा ५ रनले हराएको थियो । दुई खेलमा ओमान जित विहिन छ ।
ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ । अन्तिममा शीर्ष स्थानमा रहने टोली नै विश्वकप खेल्ने छन् ।
प्रतिक्रिया