नयाँ वर्षमा घुमघाम : यी हुन् ३६ गन्तव्य

‘न जाडो, न गर्मी’ को यो मौसम घुमफिर गर्नका निकै उपयुक्त मानिन्छ । आन्तरिक पर्यटनको बजार नेपालमा बिस्तारै बढ्दै गएपछि नयाँनयाँ गन्तव्य बढ्दैछन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटन बोर्डले पनि नयाँ नयाँ गन्तव्यहरूको पहिचान गरेर पर्यटन विकासका लागि पहल गरिरहेको छ ।

काठमाडौँ । नयाँ वर्षमा बिदा मिलाएर परिवार तथा साथी–साथी मिलेर घुम्न जानेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । ‘न जाडो, न गर्मी’ हुने भएकोले घुमफिर गर्नका लागि यो समयको मौसम निकै उपयुक्त मानिन्छ । आन्तरिक पर्यटनको बजार पनि नेपालमा बिस्तारै बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटन बोर्डले पनि नयाँ नयाँ गन्तव्यहरूको पहिचान गरेर पर्यटन विकासका लागि पहल गरिरहेको छ । देशभित्रका यस्ता थुप्रै गन्तव्यमध्ये केही गन्तव्यको बारेमा यहाँ चर्चा गरिएको छ ।


नयाँ वर्षमा घुम्न सकिने पर्यटकीयस्थलहरू निम्न छन् :

तीनजुरे–मिल्के–जलजले

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र पनि पछिल्लो समय विकास हुँदै गएको पर्यटकीय गन्तब्य हो । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा तीनजुरे डाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मंगलबारे, गुफापोखरी र गुराँसका जंगलको मनमोहक दृश्य देख्न सकिन्छ । यहाँबाट कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको अवलोलन गर्न साँच्चै रोमाञ्चक हुन्छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथीभरा मन्दिर, मंगलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको पैदल मार्ग अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् ।

कालिञ्चोक

दोलखा जिल्लामा अवस्थित धार्मिक र पर्यटकीय स्थल कालिञ्चोक भगवती पनि राम्रो गन्तव्य हो । समुन्द्री सतहबाट ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको डाँडाबाट रोल्वालिङ हिमशृंखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ ।

चित्लाङ

काठमाडौँबाट २९ किलोमिटर दुरीमा रहेको मकवानपुरको चित्लाङ पनि यो मौसममा घुम्नको लागि उपयुक्त गन्तव्य हो । त्यहाँ बस्नका निम्ति होटल तथा होमस्टेको व्यवस्था छ ।

कुलेखानी

एकदिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो । काठमाडौँबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन् । कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ ।

सुकुटे

काठमाडौँबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो । यो ठाउँ विशेषगरी भोटेकोसीमा ¥याफ्टिङका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ । अहिले सुकुटे एड्भेन्चर हबकै रूपमा विकास भइसकेको छ ।

धुलिखेल

काठमाडौँ उपत्यकामा बस्नेहरूका लागि धुलिखेल पहिलो नम्बरमै पर्ने पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन । काठमाडौँबाट ३१ किलोमिटर दुरीमा रहेको धुलिखेलमा पिकनिक जानेहरू पनि धेरै हुन्छन् । यहाँ नमोबुद्ध, हजार सिँढी घुम्न र जिपलाइनमा रमाउन सकिन्छ । त्यस्तै गणेश, लाङटाङ, ल्होत्से, गौरीशंकरलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

बेथानचोक

काभ्रेपलाञ्चोकको बेथानचोक पछिल्लो समय रूचाइएको ठाउँ हो । काठमाडौँबाट ४४ किलोमिटर दुरीमा रहेको बेथानचोक १ दिन बसेर फर्किंदा उपयुक्त हुन्छ । ३ घन्टा गाडीमा यात्रा गरेर ५ घन्टा पदयात्रा गरेपछि बेथानचोक पुगिन्छ । गत असोजमा वर्षापछिको बाढी र पहिरोले बेथानचोक जाने सडक तथा बाटोमा क्षति पु¥याएको भए पनि पैदल यात्रा गर्न रुचाउनेहरूका लागि यो उपयुक्त गन्तव्य हो ।

नगरकोट

काठमाडौँबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोट सूर्योदय हेर्ने ठाउँका रूपमा प्रख्यात छ । नगरकोटबाट धवलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्सेलगायतका हिमाल सजिलै देख्न देखिन्छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा साना–ठूला सबैखाले होटल छन् ।

ककनी

नुवाकोटको ककनी पनि काठमाडौँ नजिकैको चर्चित पर्यटकीय स्थल हो । काठमाडौँबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्युटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन् । यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगललगायत हिमाल देख्न सकिन्छ ।

चिसापानी

हाइकिङका लागि प्रसिद्ध चिसापानी काठमाडौँबाट २९ किलोमिटर दुरीमा रहेको छ । सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै हाइकिङ गर्न सकिन्छ । यहाँसम्म निजी सवारीबाट पनि पुग्न सकिन्छ । यहाँको आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज, धाप ड्याम र हैबुङ हुन् ।

सिम्बा झरना

सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा महांकाल गाउँपालिका–१ बुखेलको खावा भञ्ज्याङ र वडा–२ को रिगिन खोलामा पर्छ । यो झरनामा प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

मुस्ताङ

हिमालपारिको जिल्ला मुस्ताङ पनि घुम्नको लागि उत्कृष्ट गन्तव्य हो । सुक्खा माटो र सुक्खा बालुवाका ठूला र लोभलाग्दो देखिने पहाड नै मुस्ताङप्रति आकर्षण हुनुको मुख्य कारण हो । मुस्ताङ पुग्नेहरू प्रायः मुक्तिनाथ मन्दिर, ढुम्बा ताल, कोराला नाका, लोमान्थाङ पुग्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज

बाघ हेर्न चाहनेहरूका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पनि उपयुक्त गन्तव्य हो । काठमाडौँ, पोखराबाट सडक र हवाई मार्ग हुँदै बर्दिया पुग्न सकिन्छ । राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिंगे र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यहाँ ४३८ थरी रैथाने र बसाइँ सरेर आएका चराहरू पाइन्छन् ।

जिरी

घुम्नका लागि अर्को आकर्षक गन्तव्य हो, दोलखाको जिरी । जिरीलाई नेपालको स्विजरल्यान्ड पनि भनिन्छ । काठमाडौँबाट १८४ किलोमिटरको दुरीमा रहेको जिरीको मनमोहक हरियाली र झरना तथा परम्परागत बस्ती पर्यटकका लागि विशेष आकर्षक हुन् ।

चन्द्रागिरि

२ हजार ४७५ मिटर उचाइमा रहेको चन्द्रागिरी काठमाडौँको रमणीय स्थलका रूपमा चर्चित छ । चन्द्रागिरिमा केबलकारको व्यवस्था भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल झन् बढेको हो । नयाँ वर्षमा घुम्न जानका लागि यो ठाउँ पनि उपयुक्त हुन सक्छ ।

मनकामना मन्दिर

गोरखाको मनकामना मन्दिर पनि नयाँ वर्षमा घुम्न जानका लागि उपयुक्त स्थान हुनसक्छ चितवनको कुरिनटारबाट मनकामनाका लागि केबलकारको व्यवस्था छ । हिँडेर जानेहरूका लागि उकालो गोरेटे बाटो पनि त्यत्तिकै रमाइलो छ ।

सौराह

हात्ती चढेर जंगल घुम्न, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न सौराह घुम्न जानेहरूका लागि आकर्षक गन्तव्य हो । सौराह क्षेत्रमा राम्रा होटलहरू छन् । यसका साथै थारू सँस्कृतिको नाच हेर्न पाइन्छ ।

श्रीअन्तु डाँडा

मनै लोभ्याउने चिया बगानसँगै सूर्योदय इलामको नगरपालिका–५ मा रहेको श्रीअन्तु डाँडा पनि एक आकर्षक आन्तरिक गन्तव्य होे । सूर्योदयको दृश्यावलोकनका लागि यो डाँडा प्रसिद्ध छ ।

चिया बगान, बगानभित्रका स–साना चिटिक्क परेका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्रीअन्तुका प्रमुख विशेषताहरू हुन् ।

तिम्बुङ पोखरी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पर्ने प्राकृतिक सौन्दर्य, धार्मिक, जैविक तथा सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरी पनि पर्यटकीय गन्तव्य हो । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । यो पोखरीमा पाइने केन्जो फूल निकै लोकप्रिय छ ।

कोसीटप्पु

चराको स्वर्ग भनेर चिनिने कोसीटप्पु विराटनगरबाट ५० किलोमिटर पश्चिममा पर्छ । कोसीटप्पुमा ५२७ प्रजातिका चरा पाइन्छन् । कोसीटप्पुलाई अर्नाको राजधानी पनि भनिन्छ । कोसीटप्पुमा विश्वमै दुर्लभ मानिने बबुलिस जातको अर्ना पाइन्छ । यो पनि प्रमुख पर्यटकीय गन्तव्य हो ।

भेडेटार

छिनमै कुहिरो लाग्ने छिनमै घाम लाग्ने भेडेटार पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार मानिन्छ । भेडेटार कोसी प्रदेशअन्तर्गत सुनसरी र धनकुटा जिल्लामा पर्ने एक सुन्दर पर्यटकीय बजार हो ।

जानकी मन्दिर

जानकी अर्थात् सीताको जन्मस्थल मानिने जनकपुरमा रहेको जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । मुगल शैलीमा बनाइएको यो मन्दिरमा नेपाल तथा भारतका पर्यटकहरूका लागि प्रमुख गन्तव्य हो ।

सलहेस फूलबारी

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखमा मात्र फुल्ने फूल भएको सलहेस फूलबारी पनि नयाँ वर्षको अवसरमा उपयुक्त घुमफिर गर्ने स्थान हो । लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लाग्ने गर्दछ ।

लुम्बिनी

विश्व सम्पदा सूचीमा सूचीकृत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि घुम्नै पर्ने पर्यटकीय स्थल हो । लुम्बिनीको मायादेवी मन्दिर सबैको रोजाइमा पर्छ । तर लुम्बिनीमा मायादेवी मन्दिर मात्रै होइन, धेरै आकर्षक अन्य बिहार पनि छन् ।

स्वर्गद्वारी

धार्मिक गन्तव्यमा प्युठानको स्वर्गद्वारी पनि पर्दछ ।

रानी महल

पाल्पाको रानी महल पनि नयाँ वर्षमा घुम्न सकिने पर्यटकीय स्थल हो । काली गण्डकीको किनारमा मनोरम प्राकृतिक स्थलमा रहेको रानी महललाई तानसेन नगरपालिकाले संग्रहालय बनाएर संरक्षण गरेको छ ।

रेसुङ्गा

प्राचीन युगमा धेरै ऋषि महर्षिले तपस्या गरेको गुल्मीको रेसुङ्गा पनि धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।

सुपा देउराली

अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलवस्तुको गोरुसिंगे सडकमा पर्ने सुपा देउराली धार्मिक ऐतिहासिक पर्यटकीय गन्तव्य हो ।

रारा ताल

सरकारले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय क्षेत्रमध्ये मुगुको राराताल सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो । रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।

कुपिन्डे दह

सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।

सिञ्जा उपत्यका

जुम्ला जिल्लाको सिञ्जा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्वपूर्ण पर्यटकीय स्थल हो । सिञ्जा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले समेत परिचित क्षेत्र क्षेत्र हो ।

पचाल झरना

कालिकोटको पचाल झरना उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ ।

शे–फोक्सुन्डो र त्रिपुरासुन्दरी


कर्णालीकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल शे–फोक्सुन्डो डोल्पा जिल्लामा पर्ने पर्यटकीय गन्तव्य हो । समुद्री सतहबाट ११ हजार ८०० फिट उचाइमा रहेको शे–फोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो ।

लिमी उपत्यका

हुम्लाको ‘लिमी उपत्यका’ नयाँ पर्यटकीय क्षेत्र हो । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब १ हप्ताको पैदल यात्रापछि लिमी उपत्यकामा पुग्न सकिन्छ । ११औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्रविन्दु हुन् ।

रामारोशन क्षेत्र

अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित रामारोशन क्षेत्र पछिल्लो पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । यहाँ सानाठूला गरी १२ वटा ताल (१२ बण्ड) र १८ वटा रमणीय मैदान (१८ खण्ड) छन् । स्थानीय भाषामा यसलाई ‘बाह्र बण्ड अठार खण्ड’ पनि भन्ने गरिन्छ ।

मेलौली भगवती मन्दिर

बैतडीको मैलौली नगरपालिका मेलौली भगवतीको मन्दिर हाल शिखर शैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्माण गरिएको छ । काँडा बजारस्थित शिखर शैलीको शिवमन्दिर नजिकको टोल र गाउँमा मष्टा, गैसरे, बामनी, सिद्ध, भूतनाथ, लाटो, रतनपुरी आदि देवस्थान र माण्डौ खुला देवस्थानका रूपमा स्थापित गरिएका छन् ।

खप्तड

सुुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ । यो राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्छ । जहाँ सल्ला, खसुर र निगालोको जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान छन् ।

प्रतिक्रिया