कम्युनिस्ट एकता अपरिहार्य : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपले पुनर्गठन र रूपान्तरण गर्दै एकताबद्ध बनाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री खनालले कम्युनिस्ट आन्दोलनमा विगतमा भएका गल्तीको समीक्षा गर्दै एकतावद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले कम्युनिस्टहरूबीचको फुट र विभाजनले ल्याउने परिणामका बारेमा सचेत बन्दै आगामी २०८४ सालमा हुने निर्वाचनलाई पनि ध्यानमा राख्नुपर्ने बताए । ‘विगतमा कहाँ गल्ती भयो, सबैले समीक्षा गरौँ । वर्तमान संकटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात् गरौँ,’ उनले भनेका छन्, ‘नयाँ वर्षलाई एकता, पुनर्गठन र अग्रगतिको वर्ष बनाऔँ ।’

पूर्वप्रधानमन्त्री खनालले सरकार यथास्थितिवादमा चलिरहेको भन्दै ठुला राजनीतिक पार्टीहरू नीतिहीन र अकर्मण्यसिद्ध हुँदै गएका कारण राजावादीहरू सल्बलाएको बताए । उनले देश र जनताले नयाँ विचार, नयाँ बाटो र नयाँ नेतृत्व खोजी गरिरहेकाले कम्युनिस्ट क्रान्तिकारीहरू, प्रगतिशील र देशभक्तहरूले नयाँ धरातलबाट सोच्न जरुरी रहेको बताए । वैज्ञानिक समाजवाद नै साझा लक्ष्य हो भन्नेमा सबै एकमत बन्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया