काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते तिनकुनेमा भएको घटना दुःखद् भएको बताउँदै शान्तिपूर्ण प्रदर्शन भनिए पनि हिंसात्मक भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले स्वतन्त्रताका नाममा संयम राख्न सुझाव दिएका छन् ।
‘जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्त दुःख लाग्यो,’ शाहले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ ।’
१५ चैतमा तिनकुनेमा भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेकोतर्फ पनि शाहले संकेत गरेका छन् । उनले दुर्गा प्रसाईंतर्फ संकेत गर्दै आफूले गरेको आह्वान कसैको निजी स्वार्थ पूरा गर्न नभएर देशको स्वाधीनता, जनताको सम्प्रभुताका लागि भएको बताएका छन् । ‘हाम्रो आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका लागि होइन । कुनै खालको सैद्धान्तिक वाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाका निम्ति हो,’ सन्देशमा भनिएको छ ।
शाहले खोजे बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था
शाहले नागरिक स्वतन्त्रताभन्दा ठुलो तन्त्र वा वाद नभएको भन्दै पछिल्लो समय जनस्तरमा देखिएको नैराश्य र राजावादीको पक्षमा बढ्दै गएको आवाजको पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । र, २०८२ सालमा नेपाली जनताको चाहना अनुरूपको परिणाम हासिल हुनेमा विश्वास व्यक्त गरेका छन् । शाहले भनेका छन्, ‘नागरिक स्वतन्त्रताभन्दा ठुलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ ।’
उनले राजसंस्था नेपालीकै लागि भएको उल्लेख गर्दै आफू बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको प्रष्ट पारेका छन् । साथै, अहिलेको बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी स्थापित हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता छ, राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्छ ।’
पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र बनाउनुपर्ने प्रस्तावसमेत गरेका छन् । सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार रहेको उनको भनाइ छ ।
‘भ्रष्टाचार र बेथिति झांगियो’
विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीका रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्नेमा उनले जोड दिएका छन् । स्वदेशी स्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
शाहले नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको बताएका छन् । ‘नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार, बेथिति देशले थाम्नै नसक्ने स्तरमा झांगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउनु हामी सबैको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ,’ शाहले भनेका छन्, ‘नेपाली–नेपालीबीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद् परिस्थिति नबनोस् ।’
मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक हुँदै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म–संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि आफ्नो चिन्ताको मूल विषय रहेको शाहले उल्लेख गरेका छन् । प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवत् खण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसेर लाग्नुपर्ने उल्लेख गर्दै शाहले भने, ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको छ ।’
‘मुलुकको समग्र संरचनामा नै हेरफेर गरौँ’
जनभावनाअनुसार मुलुकको समग्र संरचनामा हेरफेर गर्नुपर्ने प्रस्ताव शाहले राखेका छन् । उनले मुलुकको समग्र संरचनामै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य देखिसकिएकाले शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको तथ्य पनि प्रस्तुत गरेका छन् । देशको समृद्धिका लागि प्रविधिको सदुपयोगसँगै सुशासन र भ्रष्टाचारमुक्त प्रशासन सबैको मूल नारा हुनुपर्ने उनको सन्देश छ ।
सन्देशमा थप भनिएको छ, ‘जनभावना र जनचाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ ।’
नेपालको राजनीति वाद र सिद्धान्तको चक्रव्यूहमा फस्यो !
संसार धेरै अघि बढिसक्दा पनि नेपाल भने राजनीतिक वाद र सिद्धान्तको चक्रव्यूहमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले राजनीतिक दलहरूप्रति आफ्नो असन्तुष्टि जनाएका छन् । ‘संसार धेरै अघि बढिसक्यो । तर, हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौँ,’ उनले भनेका छन् ।
शाहले नेपाललाई केन्द्रमा राखेर विचार बन्नुपर्ने र आवश्यक कदम चाल्नुपर्ने सुझाव राजनीतिक दलहरूलाई दिएका छन् । साथै, हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्ने भन्दै आफू राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्न तयार भएको र त्यसका लागि दलहरूलाई पनि सहमतिमा आउन सन्देश दिएका छन् ।
प्रतिक्रिया