सर्वोच्चमा रवि लामिछानेले उच्च अदालतविरुद्ध दर्ता गराएको रिटमा सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवलले गरेको आदेशविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको हो । उनले आफूलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेल (लामिछाने) ले निवेदन दर्ता गराएकी थिइन् ।
यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए ।

उच्च अदालत गएका यी दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ भएको थियो । जसमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए।

प्रतिक्रिया