टी– २० क्रिकेट : फाइनलमा कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी– २० अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा नेपाललाई कुवेतले जितका लागि १७५ रनको दिएको छ। नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो ।

कुवेतका लागि ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमस आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए । मिट भावसार १६ रनमा पबिलियन फर्किए ।

यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले १२७ रन बनाएको थियो।ओपनर राभिजा क्रिजमा टिके । उनले २८ बलमा अर्धशतक बनाए । उनको विकेट करण केसीले लिए । ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले ।

राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट हुँदा ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपाल कामीले आउट गरे । कप्तान मोहम्मद अशलाम अविजित १३ रनना रहे ।

बलिङमा नन्दन यादवले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । यो खेलमा ललित नारायण राजवंशी विकेटविहिन रहे । नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै र कुवेत दोस्रो भएर फाइनलमा पुगेका हुन् ।

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

यसअघि आजै रोमान्चक खेलमा कतारलाई १ ले हराउँदै आयोजक हङकङ सिरिजमा तेस्रो भएको छ । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा कतारले ५ विकेट गुमाएर १८७ रन‌ जोडेको थियो । अहिले फाइनल खेलमा नेपालले कुवेतथविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया