काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवलले गरेको आदेशविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ । उनले आफूलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
सभापति लामिछानेको तर्फबाट शुक्रबार दर्ता भएको रिट आज प्रारम्भिक सुनुवाइका लागि इजलासमा पेस भएको हो । आज सुनुवाइ भएमा अदालत मातहत अदालतबाट थप काजगात (कैफियत प्रतिवेदन) माग गर्न सक्छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ पक्राउ परेर जिल्ला कारागार रुपन्देहीमा रहेका छन् । सोही दिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालतको आदेशलगत्तै उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो । उनलाई २३ गते विमानमार्फत बुटवल पुर्याइएको थियो। २५ गते उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएर कारागार चलान गरेको थियो ।
प्रतिक्रिया