जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा आगामी २७ वैशाखदेखि जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो ।
खेलकुद पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ ।
क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुरी ५१ किलोमिटर तोकिएको छ ।
अध्यक्ष शाहीले भने, ‘दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास छ ।’
प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिर हुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।
प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, ५ किलोमिटर खुला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने छ ।
विगतमा बेलायत, नेदरल्यान्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजारको जुम्लाबाट सुरु भई मुगुको रारा तालको हुटुमा समापन हुनेछ ।
५१ किलोमिटरको प्रतियोगितामा प्रथम हुने (महिला÷पुरुष) लाई १–१ लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) मा दोस्रो स्थान हासिल गर्नेलाई जनही ७५ हजार, तृतीय हुनेलाई ५० हजार, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
५ किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिने छ ।
विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला÷पुरुष) १० हजार, दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया