काठमाडौँ । वर्ष २०८१ मा नेपाली खेलकुद विवादमा बित्यो । नेपाल ओलम्पिक कमिटीको विवाद र १०आँै राष्ट्रिय खेलकुदको आयोजना गर्न सरकारको असफलता तथा खेल भावनाको खिल्ली उडाइएको वर्षको रूपमा वर्ष २०८१ रहेको छ ।
५ राष्ट्रिय खेलकुद संघले नेपाल ओलम्पिक कमिटीमा सदस्यता पाउनुपर्ने माग गर्दै लामो समयदेखि चलेको मुद्दा अन्ततः छिनोफानो लागेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्देशनमा ओलम्पिक काउन्सिल अफ एसियाको पहलमा ५ संघलाई सदस्यता दिने गरी विवाद समाधान भएको थियो ।
यसरी सदस्यता पाउने ५ संघमा नेपाल बेसबल एन्ड सफ्टबल संघ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल रग्बी संघ नेपाल इक्वेस्ट्रियन संघ तथा नेपाल मोर्डन पेन्टाथन संघ आफूलाई ओलम्पिक गतिविधिमा समावेश गर्न सफल भए ।
यो वर्ष सबैभन्दा असफल व्यक्तिको रूपमा नेपाल ओलम्पिक कमिटीका पूर्वमहासचिव निलेन्द्रराज श्रेष्ठ, पूर्वउपाध्यक्ष सुनील श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री तजुलाल चौधरी भए ।
चौधरीको असमक्षताका कारण १०आँै राष्ट्रिय खेलकुद स्थगन भइसकेको छ । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले त उनी असफल भएको भन्दै पार्टीको समेत बदनाम गराउन उद्यत रहेको आरोप लगाइसकेका छन् ।
निलेन्द्र र सुनिलले ओलम्पिक कमिटीको निर्वाचनलाई अवैध पुष्टि गराउने अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास असफल भएको छ । यसअघि थप खेलसंघलाई सदस्यता दिने सवालमा कठोर रह्ेको सो समूह अदालतमा ती ५ संघले मुद्दा दायर गरेपछि त्यसैको सोही मुद्दाको आडमा गतिविधि गर्न केही समय सफल भएका थिए ।
वर्ष सकिन २ दिनअघि बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले ७ संघलाई विघटन गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले निर्वाचनको तयारी गरेको समयमा ह्यान्डबल संघ पुनर्गठनको निर्णय गरेर मन्त्री चौधरीले अनावश्यक विवाद निम्त्याए ।
निर्वाचन नगराएको भन्दै ७ संघलाई विघटन गरेका चौधरीले हंगेरीका भएको विश्व च्याम्पियनसिपमा बिनाछनोट अमेरिकामा रहेको खेलाडीलाई समावेश गराउने तथा आफ्नै घरबाट कार्यालय सञ्चालन गर्ने राजीवविक्रम शाहलाई भने यथावतै राखेका छन् । शाह नेपाली कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवाका निकट पात्रको रूपमा परिचित छन् ।
मन्त्री चौधरीले राष्ट्रिय खेलकुद् परिषद्का ४ सदस्यलाई बर्खास्त गर्ने निर्णयलाई न्यायालयले गलत सावित गरेको छ ।
नेपाल उसु संघको विवादका कारण राष्ट्रिय खेलकुद परिषद्को हातामा तोडफोड भएको थियो । थुप्रै खेलमा सरोकारवालाभन्दा बाहेक अन्यले जिम्मेवारी पाउने क्रम कायम नै रह्यो ।
खेलकुद बरिष्ठताभन्दा नेतृत्वको निकट सम्बन्धका आधारमा जिम्मेवारी पाउने क्रम कायम नै रहेको छ । दोस्रो तहका धेरै जनालाई बेवास्ता गर्दै तेस्रो तहका दीपक विष्टलाई राष्ट्रिय टिम तयारी समितिको निर्देशक बनाएको खेलकुद परिषद्ले संगीना वैद्यलाई बेवास्ता गर्दै सोभति प्रयासलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनाएको थियो ।
१०आँै राष्ट्रिय खेलकुद स्थगन त भयो । स्थगनको निर्णयको केही दिनअघि मात्र मन्त्री चौधरीले ११ उपसमिति गठन गरेका थिए । सो उपसमिति पनि विवाद मुक्त भने भएन । नाइटिङ्गल स्कुलका सञ्चालक चौधरीले सोही स्कुलका प्रिन्सिपल रञ्जना प्रधानलाई संयोजक तोक्दै समारोह उपसमिति गठन गरेका थिए ।
प्रतिक्रिया