जाँदाजाँदै : निराशा र अन्योलमै बित्यो ८१ साल

राजनीतिक अस्थिरता र दाउपेचमै बित्यो साल

२०८१ सालको सुरुदेखि नै देशले राजनीतिक खिचातानी र अस्थिरताको मार खेप्नुपर्यो । यसअघिका वर्षहरूमा झैँ यो वर्ष पनि सरकारको अस्थिरता, दलहरूबीच आरोप–प्रत्यारोप, कलह, विभाजनजस्ता विकृतिले निरन्तरता पाइरहे । नेपाली राजनीतिमा पुराना दृश्यहरूको पुनरावृत्ति त भयो नै, केही नयाँ दृश्य पनि देखिए ।

सरकारमा अस्थिरता, निर्लज्ज गठबन्धन !

२०७९ को आमनिर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र, एमाले, रास्वपालगायत दल सम्मिलित सरकार बनेको थियो । तर, राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेसँगै माओवादी केन्द्र–एमाले गठबन्धन टुटेर माओवादी केन्द्र–कांग्रेस गठबन्धन सरकार बन्यो । तर, प्रधानमन्त्री प्रचण्डले पुनः कांग्रेससँगको गठबन्धन लत्याएर एमालेसँग सरकार बनाएपछि दुवै पार्टीले उनलाई अविश्वास गर्ने अवस्था बन्यो ।

त्यसपछि २०८१ साल असार ३१ गते संसद्का २ ठुला राजनीतिक दल कांग्रेस र एमाले मिलेर सरकार बनाए । संसद्को दोस्रो ठुलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा कांग्रेससहित मधेस केन्द्रित साना दल सहभागी छन् । संसदीय लोकतन्त्रको मूल मान्यता र विश्वव्यापी अभ्यासविपरीत संसद्का २ ठुला दलको गठबन्धन सरकार बनेपछि अधिकांशले यसलाई निर्लज्जताको संज्ञा दिए । संविधान संशोधनको विषयलाई मुख्य एजेन्डा बनाएर बनेको सरकार अहिलेसम्म देखिने गरी संविधान संशोधनको मुद्दामा अघि बढ्न सकेको छैन । सरकार फेरबदल र अस्थिरताको चक्र यस वर्ष पनि कायमै रह्यो ।

०००००

राजनीतिले सही दिशा लिन सकेन : कृष्ण पोखरेल, विश्लेषक

कृष्ण पोखरेल, विश्लेषक

२०८१ लाई राजनीतिक तवरबाट विश्लेषण गर्दा सरकारले ‘गरेर देखाउने छाँट’ ल्याएन । देशका अधिकांश समस्या ज्यूँका त्यूँ छन् । संघीयता कार्यान्वयनसँग सम्बन्धित प्रमुख ऐन अझै निष्कर्षमा पुगेका छैनन् । समग्रमा हेर्दा राजनीतिले सही दिशा समातेको देखिएन ।

०००००

जसपा नेपाल दुई चिरा

२०८१ सालको सुरुमै २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनपछि राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको दल जनता समाजवादी पार्टी, नेपालले विभाजन भोग्नुपरेको छ । पटक–पटक फुट र विभाजन सहँदै आए पनि उपेन्द्र यादवले नेतृत्व गरेको यो पार्टीमै धेरै नेता थिए । तर, यस पटक भने प्रतिनिधिसभामा १२ जना सांसदसहित छैटौँ स्थानमा रहेको यो दलका ७ जना सांसद फुटेर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि इतिहासकै नराम्रो क्षति बेहोर्नुपर्यो । कुनै समय मधेसको सबैभन्दा ठुलो पार्टीको हैसियत र नेताका रूपमा रहेको जसपा नेपाल र उपेन्द्र यादव यतिखेर ५ सिटसहित संसदको नवौँ स्थानमा पुगेका छन् । बरु विभाजित भएर बनेको दल जसपा त्यसभन्दा माथिल्लो स्थानमा छ ।

रास्वपा सभापति जेल चलान

२०७९ सालको आमनिर्वाचनपछि नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो । पार्टीको नेतृत्व सभापति रवि लामिछानेले गरेका थिए । राष्ट्रिय राजनीतिमा उनको चर्चा एकाएक बढ्न थाल्यो । पूर्वसञ्चारकर्मीको सशक्त छवि बनाएका उनले पार्टी स्थापना गरेको छोटै समयमा २१ सिटसहित संसदीय राजनीतिको चौथो ठुलो दल बनाए ।

तर, पोखराको सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम सहकारीलगायत सहकारी ठगी र संगठित अपराधको मुद्दामा सभापति लामिछानेको नाम मुछिएपछि संसदीय विशेष छानबिन समिति नै बनाउनुपर्ने अवस्था आयो । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि उनलाई कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । ८४ दिन हिरासत बसाइपछि विभिन्न जिल्ला अदालतको आदेशपछि करोडौँ धरौटी रकम बुझाएर निस्किएका उनलाई उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले गत चैत २२ मा थुनामै राख्न आदेश दियो । अदालतको आदेशसँगै उनी हाल कारागारमा छन् ।

वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाका सभापति नै जेल चलान भएको अवस्थामा पार्टीको भविष्य नै अनिश्चिततातर्फ धकेलिएको छ । युवा पुस्तामा सेलिब्रिटी छवि बनाएका सभापति लामिछानेसँग खासगरी युवा पुस्ताले धेरै अपेक्षा राखेको देखिएको थियो । तर, राजनीतिमा विकल्प दिन आएका व्यक्ति नै ठगी र अपराधजस्ता विषयमा जेल चलान भएपछि वैकल्पिक शक्ति भन्नेहरूमाथि नै प्रश्न उब्जिएको छ ।

राजावादीहरू जुर्मुराएको वर्ष

२०८१ सालको अन्तिमतिर राजावादी शक्तिहरू जुर्मुराए । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो वक्तव्य दिँदै आफूलाई साथ दिन आह्वान गरेपछि राजावादी शक्ति सडकमा देखिन थालेका हुन् । २५ फागुनमा पूर्वराजा शाह पोखराबाट काठमाडौँ फर्किंदा हजारौँ समर्थक तथा शुभेच्छुकले स्वागत गरी निर्मल निवास पुर्याएका थिए । लगत्तै राजसंस्था पुनस्र्थापना, हिन्दु अधिराज्य कायम र संघीयता खारेजीको एजेन्डा बोक्दै चैत ४ गते नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ नै गठन भयो ।

समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ । २०६५ सालमा गणतन्त्र स्थापनापछि गुमनाम जीवन बिताइरहेका पूर्वराजा शाहले राजसंस्था पुनस्र्थापनाको अभिलासा राखेसँगै उनका समर्थक एकाएक सडकमा आउनुले नेपालको राजनीतिक वृत्त तरंगित बनेको छ । तर गत १५ चैतमा तिनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि समिति संयोजक सुवेदी नजरबन्दमा परेका छन् भने समितिका सदस्यहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलगायत दर्जनौँ व्यक्ति पक्राउ परेका छन् । तिनकुने घटनालाई राजनीतिक घटनाका रूपमा लिने कि हिंसात्मक भन्ने सम्बन्धमा पनि दलहरू कित्ताकाटको अवस्थामा छन् ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राजसंस्था पुनस्र्थापनाका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तिनकुने घटनापछि जुर्मुराएका राजावादी शक्तिको आगामी आन्दोलनले कस्तो रूप लिन्छ, त्यो भने हेर्न बाँकी नै छ । यद्यपि यस वर्षबाट गणतन्त्रवादीहरूलाई चुनौती नै दिने गरी राजावादीहरू प्रस्तुत भएका छन् ।

सुल्झिन नसकेका विषय

२०८१ सालमा पनि संघीयता कार्यान्वयनको विषय पेचिलो बन्यो । प्रहरी कर्मचारी समायोजन ऐन संघीय संसद्बाट पारित भइसके पनि कार्यान्वयनमा संघीय सरकारले चासो नदेखाउँदा अझै पनि प्रदेश सरकारहरू अधिकारविहीन हुनुपरेको छ । अझै पनि सरकारले सो ऐन कार्यान्वयन गर्नेतर्फ ध्यान पुर्याएको छैन । त्यसैगरी विद्यालय शिक्षा ऐन आउन नसक्दा नेपालको शैक्षिक क्षेत्र नै अव्यवस्थित र धराशायी बन्ने अवस्थामा पुगेको छ । शिक्षकहरू निरन्तर आन्दोलित छन् । यो ऐन केवल शिक्षकहरूको विषय मात्रै नभई समग्र राज्यको विषय हो । संघीयता कार्यान्वयनको मेरुदण्ड रहेको यो ऐनको विधेयक संसदीय समितिमै विचाराधीन छ ।

अर्को महत्वपूर्ण विषय भनेको शान्ति प्रक्रियाका बाँकी काम नटुंगिनु पनि हो । संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन पारित भए पनि बाँकी काम तदारुकताका साथ अघि बढ्न सकेको छैन । लामो समयदेखि अन्तर्राष्ट्रिय जगत्ले पनि नजिकबाट हेरिरहेको यो विषय २०८१ सालमा पनि टुंगोमा पुग्न सकेन ।

अत्यासलाग्दा दुर्घटना

२०८१ सालमा केही अत्यासलाग्दा दुर्घटना भए । असारमा नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुइवटा बस त्रिशूलीमा बेपत्ता भए । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । त्यस्तै, एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भयो ।

लय समात्न नसकेको अर्थतन्त्र

समग्रमा यो वर्ष सिंगो राज्य संयन्त्र नै बिचौलिया र स्वार्थ समूहसामु निरिह बनेको आरोप लाग्यो । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा भएको खिचातानी र सहकारी पीडितभन्दा पनि केही मुठ्ठीभरका व्यक्तिको स्वार्थमा काम गर्दा सरकारले जसभन्दा अपजस धेरै खेप्नुपर्यो । सहकारी पीडित सडकमै छन् । सहकारी समस्या समाधान गर्नुको सट्टा आफ्नालाई जोगाउने, विरोधीलाई जेल हाल्ने काम गरेको तर पीडितलाई रकम फिर्ता गर्ने ग्यारेन्टी नगरेको आरोप सरकारमाथि लाग्यो । यो वर्ष सहकारी क्षेत्र नै थला पर्यो ।

उद्योगीले डन्डी तथा सिमेन्टको भाउमा मनलाग्दी वृद्धि गर्दा पनि कारबाहीको सट्टा सरकारले सहयोग गरेको देखियो । एलपी ग्यासमा कमिसन बढाएर राज्यलाई ठुलो आर्थिक भार बोकाइयो । विकास खर्च निराशाजनक देखियो भने विकास खर्चभन्दा बढी सार्वजनिक ऋणको ब्याज र सावाँ तिर्नमै सकियो । सार्वजनिक ऋणको भारी २६ खर्ब ७६ अर्ब पुग्यो ।

क्रेडिट रेटिङमा ‘डबल बी माइनस’ अंक पाए पनि देश एफएटिएफको ‘ग्रे लिस्ट’मा पर्यो । आर्थिक तथा वित्तीय सूचकहरूमा केही सुधार देखिए पनि भूराजनीतिको चपेटामा पर्दा आगामी बजेट निर्माण नै प्रभावित हुने खतरा छ । युएसएआइडीको सहयोग रोकिएपछि शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका धेरै काम प्रभावित भए । सुनको भाउ अचाक्ली बढेर आमसर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ । मूल्यवृद्धिले ढाड सेकिने अवस्था बनेसँगै आमनागरिकको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

भेटिएनन् विपिन

२०८१ सालमा सबैभन्दा बढी खोजिएका र फर्किने आस गरिएका विपिन जोशीको अवस्था अझै पत्ता लागेन । ७ अक्टोबर, २०२३ मा हमासको कब्जामा परेका विपिनको खोजीमा सरकारले सकेसम्मको मिहिनेत गर्दा पनि यो वर्ष त्यसले सार्थकता पाएन । परराष्ट्रमन्त्री आरजु राणाले विभिन्न देशका प्रमुख नेताहरूलाई फोन गरेर तथा कतिपय देशमा आफैँ पुगेर विपिनको रिहाइका लागि पहल गर्दा पनि सम्भव भएन । त्यतिमात्रै होइन, प्रधानमन्त्री तहबाट पनि विपिनको रिहाइका लागि कूटनीतिक प्रयास विफल भयो ।

जलवायुजन्य विपद्ले आक्रान्त वर्ष

नेपालका लागि २०८१ साल जलवायु परिवर्तनमा मडारिएको वर्ष रह्यो । भीषण बाढी, पहिरो, अत्यधिक वर्षा, अचाक्ली गर्मी यी सबै प्राकृतिक घटना एकै वर्षमा अनुभव भयो । सिमलताल घटनादेखि देशभरका विभिन्न जिल्लामा डढेलोसम्म दर्जनौँ प्रकृतिक विपद्का घटना यो वर्ष नेपालले भोग्नुप¥यो । २०८१ लाई फर्केर हेर्दा थामेको बाढीले बस्ती नै विस्थापित हुने अवस्था, गत असोजमा आएको बाढीका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्र डुबान, भौतिक पूर्वाधार क्षति, आकस्मिक र रेकर्ड तोड वर्षा, प्रदूषण र डढेलोले रेकर्ड ‘ब्रेक’ गरेको वर्षको रूपमा २०८१ रह्यो ।

बाढीपहिरोका कारण भएको अकल्पनीय क्षति, हिउँदमा कम वर्षा, हिउँ कम पर्नु, हिमताल विस्फोट हुनु, डढेलो लाग्नुजस्ता यस वर्षका प्राकृतिक प्रकोपले सबैलाई चिन्तित बनायो । पूर्वसूचना दिँदादिँदै पनि यस वर्ष धनजनको क्षति बढी भएको देखिन्छ । यसले हाम्रो पूर्वतयारीको नाजुक अवस्थालाई पनि देखायो ।

२०८१ सालमा पहिरोका कारण ३५९ जनाले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र २८७ जना घाइते छन् । यस अवधिमा ३ हजार ६९२ वटा घर आंशिक र २ हजार १३ वटा घर पूर्ण रूपमा क्षति भए । पहिरोका कारण ४० वटा पुलमा क्षति पुग्यो । बाढीका कारण ९७ जनाको मृत्यु भयो भने १८ जना बेपत्ता र ४८ जना घाइते भए । भारी वर्षाका कारण ८ जनाले ज्यान गुमाउँदा ३८ जना घाइते भए । हावाहुरीका कारण ७ जनाको मत्यु र ४२ जना घाइते भए भने हिउँपहिरोका कारण १ जना बेपत्ता छन् ।

सिमलतालको त्यो अत्यासलाग्दो घटना

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरोका कारण सडकमा गुडिरहेका दुइटा यात्रुबाहक बस बगाएर त्रिशूलीमा खसायो । काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक बसमा ३६ जना र वीरगन्जबाट काठमाडौँ गइरहेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखिएको यात्रुबाहक बसमा २६ जना गरी ६२ जना थिए । जसमध्ये गणपति डिलक्सका ३ जना यात्रुले हामफालेर ज्यान जोगाए पनि ५९ जना यात्रुले भने ज्यान गुमाए । सरकारकै तथ्यांक हेर्ने हो भने ३५ जना अझै बेपत्ता छन् ।

भीषण बाढीले बगर बनाएको थामे बजार

गत साउन ३२ गते दिउँसो साढे १ बजेतिर सोलुखुम्बू जिल्लाको खुम्बू पासाङल्हामु गाउँपालिकाको थामेमा हिमपहिरोका कारण अचानक लेदोसहितको बाढी आउँदा थामे बजार बगरमा परिणत भयो । कहिल्यै कल्पना नगरेको यो घटना त्यहाँका स्थानीयलाई अझै पनि सपनाझैँ लागिरहेको छ । यो विपद्ले त्यहाँका बासिन्दालाई अझै पनि तर्साइरहेको छ । फेरि पनि कुन दिन हिमपहिरोले ज्यान जोखिममा पर्ने हो भन्ने चिन्तामा छन् थामेबासी । जल तथा मौसम विज्ञान विभागका अनुसार २०८१ सालमा बाढीका ८ वटा ठुला घटना भए ।

रेकर्ड तोड वर्षा

२०८१ मा सुदूरपश्चिमको दक्षिण–पश्चिमी भू–भागमा पर्ने दोधारा, हनुमाननगर र सुन्दरपुरमा नेपालमा हालसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा भयो । जल तथा मौसम विज्ञान विभागको २००३ सालको उपलब्ध तथ्यांकअनुसार यी स्थानमा सर्वाधिक वर्षा मापन भएको थियो । असार २४ को बिहान वर्षा मापन गर्दा २४ घन्टाको अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२४ मिमी, हनुमाननगरमा ५७३.६ मिमी र सुन्दरपुर केन्द्रमा ५५५.८ मिमी वर्षा भएको पाइयो ।

उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अतिभारी वर्षा भएको विभागको प्रारम्भिक विश्लेषणबाट देखिन्छ ।

काठमाडौँ उपत्यका जलमग्न भएको वर्ष

असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा धनजनको व्यापक क्षति पुग्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार ३ दिनको अवधिमा २५० जनाले ज्यान गुमाए भने १८ जना अझै बेपत्ता छन् । १७८ जना घाइते भएका थिए । झन्डै ६ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्यांक छ ।

सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण सहरी विकास मन्त्रालयअन्तर्गत क्षतिग्रस्त पूर्वाधारका संरचना बनाउन करिब २ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड र २८ ओटा झोलुंगे पुलमा आंशिक क्षति र ३२ वटा झोलुंगे पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।

मन्त्रालयका अनुसार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बाग्मती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीहरूमा थुपारेको माटो तथा गेग्रान निकाल्न मात्र करिब १२ करोड ८१ लाख रुपैयाँ खर्च हुनेछ । नदी किनारमा निर्माण गरिएका क्षतिग्रस्त तटबन्ध, पर्खाल र बाटोलगायत अन्य संरचना पुनः बनाउन ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अहिलेसम्मकै तातो वर्ष

२०८१ साल विश्वकै लागि सबैभन्दा तातो वर्ष रह्यो । यसको प्रत्यक्ष असर नेपालमा पनि देखियो । हिमाल नांगिए भने भएका हिमखण्डहरू पनि द्रुत गतिमा पग्लिँदै गएका छन् । यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा संसारभरका वैज्ञानिकहरूले विश्लेषण गरे । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)द्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख भएको तथ्यांकले त विश्व नै अहिले डरलाग्दो जलवायुजन्य संकटबाट गुज्रिरहेको छ ।

यस वर्ष पृथ्वीको औसत तापमान औद्योगिक क्रान्तिअघि भन्दा १.५४ डिग्री सेल्सियसले बढी भएको विभिन्न तथ्यांकहरूले देखाए । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको अध्ययनले देखाएको छ । विश्वको तापक्रम वृद्धिले नेपालका हिमालमा हिउँ पग्लिने र हिमालको अस्तित्वमा नै खतरा बढेको छ ।

प्रदूषण र डढेलोले निसासिएको वर्ष

त्यस्तै, यस वर्ष काठमाडौँ उपत्यकामा इतिहासकै बढी प्रदूषण देखियो । काठमाडौँको एक्युआई ३५२ सम्म पुगेको थियो । जुन अत्यधिक बढी हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्युआई ३५ भन्दा कम हुनुपर्छ । काठमाडौँसँगै पोखरा, नेपालगन्ज, विराटनगरलगायत सहरी क्षेत्रमा पनि प्रदूषणले रेकर्ड ब्रेक ग¥यो । प्रदूषणको मुख्य कारणका रुपमा यस वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लाग्नु रहेको मानिन्छ । २०८१ मा अघिल्ला वर्षहरूको तुलनामा हजारौँ बढी डढेलोका घटना भए । डढेलो लाग्ने क्रम अझै जारी रहेकाले घटना अझै बढ्ने आँकलन गरिएको छ ।

अमेरिका–चीन व्यापार युद्ध र विश्वव्यापी तरंग


अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले अमेरिका–चीन व्यापार युद्ध अर्को चरणमा प्रवेश गरिसकेको छ भने यसको तरंगले विश्व अर्थतन्त्रमै नाटकीय परिवर्तनको खतरा बढेको छ ।

विवादको घेरामै बित्यो खेलकुद क्षेत्र


२०८१ सालमा नेपाली खेल क्षेत्र विवाद र खिचातानीको घेरा तोडेर बाहिर निस्किन सकेन । विभिन्न विवादको अदालत प्रवेश, खेल सत्ताको मनोमानी र आफूनिकटको भर्ती केन्द्र बनाउँदा खेल क्षेत्रले सकारात्मक गति लिनुको सट्टा अधोगतिको बाटो समातेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया