एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौं । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गरेको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् । एक दिनको फरकमा एकै अभिनेताको दुई चलचित्र प्रदर्शन हुँदा त्यसको असर पर्ने अनुमान गरिएको थियो ।

सोही अनुसार अञ्जिला व्यावसायिक रूपमा सफल भए पनि राजगञ्जले उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । आज चैत २९ देखि अभिनेता दिव्यदेव पन्तले अभिनय गरेको दुई चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ एकसाथ प्रदर्शन भएका छन् । नाटक हुँदै चलचित्रमा अभिनेता बनेका पन्तले ‘कर्मा’मा नेपाल प्रहरी र ‘पिताम्बर’मा खलनायकको भूमिका निर्वाह गरेका छन् । आफ्नो पात्रलाई जीवन्त बनाउन हरप्रयास गर्ने अभिनेता पन्तले नयाँ अनुभव भइरहेको बताए ।

‘दुई चलचित्र एकसाथ प्रदर्शन भएको पहिलोपटक हो, दुवै चलचित्रमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु, अभिनेता म भए पनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई हेर्ने चलचित्रको पात्र पाउनु हुनेछ’, पन्तले भने ।

नेपाली चलचित्रमा ‘आवरण’मार्फत अभिनय यात्राको सुरुआत गरेका अभिनेता पन्त प्रायः कलात्मक चलचित्रमा देखिन्छन् । कलात्मकतालाई प्राथमिकता दिने उनले ‘महाजात्रा’ चलचित्रपछि लगातार व्यावसायिक चलचित्रमा काम गरिरहेका छन् ।

‘अभिनेताले सबै किसिमको चलचित्रमा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई पर्दामा उतारिरहेको गरिरहेको छु, व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउने कोसिस गरिरहेको हुन्छु, हरेक विधाको चलचित्रमा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विश्वास छ’, उनले भने ।

अभिनेता पन्त केही समय विश्राम गरेर आगामी चलचित्रमा काम गर्ने योजनामा छन् । लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले उनले विश्राम लिने योजना बनाएको बताए ।

‘आफ्नै कामको मूल्यांकन गर्न जरुरी छ, त्यसकारण केही समय विश्राम गरेर त्यसलाई समीक्षा गर्नेछु, म बेलाबखतमा रंगमञ्चमा पनि प्रस्तुत हुन्छु, किनकि त्यहाँ आफ्नो अभिनयलाई मापन गर्न सकिन्छ’, अभिनेता पन्तले भने ।

‘पिताम्बर’ धेरै कलाकार हुनुको कारण

चलचित्र ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन भएको चलचित्रमा कलाकारको भीडभाड नै देखिएको छ । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

उल्लेखित कलाकारहरू कथाको मागका कारण राखिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिइन् । उनले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताइन् ।

‘हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ, कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ, यो चलचित्रपछि अन्य निर्मातालाई पनि यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ’, निर्देशक चौलागाईँले भनिन् । उनले दर्शकले आफूलाई मन परेको कलाकारलाई पहिलेभन्दा भिन्न तरिकाले चलचित्रमा देख्न पाउने बताइन् ।

अभिनेता प्रदीप खड्काले चलचित्रका लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको जानकारी दिए । उनले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताए ।

उनले भने, ‘निर्देशक, निर्मातासहितको समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट प्रयास गरेको हुँ, यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ, एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि म तयार भएको हुँ ।’

उनले बिनासम्झौता चलचित्र तयार भएको भन्दै सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिए । प्रायः प्रेम कथानक चलचित्रमा अभिनय गरेका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधाका लागि आफू मा तयार भएर अभिनय गरेका हुन् ।

चलचित्र भव्य बनेको अभिनेता दिव्यदेव पन्तको भनाइ छ । उनले निर्माण समूहको सोच र लगनशीलता देखेर सम्पूर्ण कलाकारले मेहनत गरेको बताए । ‘चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरिएको छैन, यति धेरै कलाकार र बजेटमा एउटा महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र तयार गर्नुभएको कुराले अन्य चलचित्रकर्मीलाई पनि उत्साहित बनाएको छ’, उनले भने ।

सो चलचित्रमा रवीन्द्र झा, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् । विशाल चौलागाईँ निर्माता रहेको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायांकन, निर्देशक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायांकन, बन्देप्रसादले सम्पादन, आशिष अविरल र बाबुल गिरीले संगीत सृजना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

प्रतिक्रिया