पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिमा बोलाउन प्रस्ताव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरिएको छ । नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका हुन् ।

आज शुक्रबार कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजा शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भन्नेबारे सोध्नुपर्ने बताए । परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनुहुन्छ ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।

सांसद परियारले भने, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो, एउटा परिवारको थियो, तत्कालीन शाहहरू पनि खोपीमा थिए, राजाहरूको अवस्था के थियो एकपटक सम्झियौँ त, त्यसपछि ३० वर्षे एकदलीय पञ्चायती व्यवस्था थियो, राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो, त्यो हामी सबैले बुझेका छौँ, राजाको छोरा राजा हुने व्यवस्था थियो, राजाको छोरी राजा हुने व्यवस्था थिएन, बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ ।’

गत चैत १५ गते राजसंस्था पुनःस्थापित गर्ने उदेश्यले काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन भएको थियो । उक्त आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाटसमेत भएको थियो । त्यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले धेरै जनालाई पक्राउ पनि गरिसकेको छ ।

प्रतिक्रिया