काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतको मधेस केन्द्रित ठुलो दल बन्ने महत्वकांक्षा र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पार्टी जोगाउने स्वार्थ मिलेपछि अन्ततः एकीकरणको अन्तिम गृहकार्य थालिएको छ । दुवै पार्टीका नेताहरूले आगामी वैशाखभित्र एकता सक्ने बताएका छन् भने सोही अनुरुप प्राविधिक कामहरूलाई तीव्रता दिएका छन् ।
मधेसको वैकल्पिक शक्तिका रूपमा उदाएको राउत नेतृत्वको जनमत प्रतिनिधिसभामा ६ सिटसहित आठौँ ठुलो दल छ । मधेस प्रदेशमा त जनमतले आफ्नै नेतृत्वमा सरकार बनाएको छ । अध्यक्ष राउत मधेस केन्द्रित दलहरूमध्ये सबैभन्दा ठुलो दल बनाएर २०८४ को निर्वाचनमा शक्ति सञ्चय गर्ने र राष्ट्रिय राजनीतिमा भूमिका बढाउने उपायको खोजीमा लागिरहेका बेला रेशम चौधरीको स्वार्थ मिलेपछि एकताको बिन्दु भेटिएको हो ।
आफू जेलमा हुँदै पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष र आफू संरक्षक रहेर पार्टी गठन गरेका चौधरी जेलमुक्त भएपछि आफूअनुकूल पार्टी चलाउन नपाएर हैरान छन् । पार्टी सञ्चालनमा पति–पत्नीबीच कुरा नमिलेपछि पार्टी जीवन नै संकटमा परेको छ । पछिल्लो समय २ जनाबीच मिलाप भएको देखिए पनि दुवैले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।
टीकापुर हत्या प्रकरणको मुद्दामा आजीवन काराबास सजाय भोगिरहेका बेला चौधरीले श्रेष्ठको अध्यक्षतामा २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी घोषणा गरेका थिए । २०८० जेठ १५ गते रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिएपछि उनी सक्रिय राजनीतिमा लागेका छन् । महाधिवेशन गरेर आफू अध्यक्ष भए पनि निर्वाचन आयोग नमानेपछि पुनः संरक्षककै भूमिकामा थन्किएका छन् ।
यस्तो अवस्थामा आगामी दिनमा समेत पार्टी आफू अनुकूल नचल्नेमा स्पष्ट भएका चौधरीले पार्टीको बागडोर निष्कलंक छवि भएका डा. राउतलाई सम्हाल्न दिन राजी भएका हुन् । अध्यक्ष श्रेष्ठलाई चर्को नैतिक दबाबमा पार्दै उनले एकताका लागि पार्टीमा सहमति जुटाएका छन् । पछिल्लो समय श्रेष्ठ भने एकताको विषयमा खासै नबोले पनि विरोध भने गरेकी छैनन् । प्रतिनिधिसभामा ४ सिटसहित ११औँ दल रहेको नाउपा जनमतसँग एकता गर्दा १० सिटसहित छैटौँ दल बन्नेछ । हाल छैटौँ दलका रूपमा १० सिट संख्यासहित नेकपा (एकीकृत समाजवादी) छ ।
रेशम संरक्षक, सिके कार्यकारी, रञ्जितालाई तेस्रो वरीयता
२ पार्टीबीच भएको सहमतिअनुसार पार्टीको राजनीतिक सिद्धान्त ‘सामुदायिक समाजवाद’लाई बनाइनेछ । पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढडिया’ राख्ने सहमति भएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सौर्य दैनिकलाई जानकारी दिए । उनका अनुसार पार्टीको झन्डाको विषयमा पनि सहमति जुटिसकेको छ । पार्टीको पहिलो वरीयतामा संरक्षकको भूमिकामा रेशम चौधरी रहनेछन् भने दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष सिके राउत र तेस्रो वरीयतामा सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति जुटेको छ ।
अहिले नयाँ पार्टीको विधान बनाउने काममा दुवैतर्फका नेता जुटेका छन् । हालका पार्टीका विधान प्रतिस्थापन गर्न २ पक्षबाटै कार्यदल गठन गरिएको छ । जनमतबाट कमल चुडालको संयोजकत्वमा शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह रहेको ३ सदस्यीय कार्यदल छ भने नाउपाबाट दामोदर पण्डितको संयोजकत्वमा सरोज बुढाथोकी र गीता चौधरी रहेको कार्यदल बनेको छ । दुवै कार्यदलले पार्टीको नयाँ विधान बनाउने जिम्मेवारी पाएका छन् । कार्यदलले आगामी १० दिनभित्र विधान तयार पार्ने र दुवै पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि एकताको कानुनी प्रक्रिया सुरु हुने जनमतका उपाध्यक्ष खानले जानकारी दिए ।
रञ्जिता अझै मौन, नयाँ पार्टीमा पनि कलहको आशंका !
पार्टी ठुलो बन्ने भएपछि जनमत पार्टी पंक्तिमा खुसियाली छाएको छ । यता, नाउपामा भने मौनता छाएको छ । रेशम चौधरीको बलमा हुन लागेको एकताप्रति अध्यक्ष रञ्जिता श्रेष्ठ भने अझै सशंकित छिन् । यसकारण पार्टी एकताका बारेमा नाउपाका तर्फबाट कुनै पनि नेता सार्वजनिक रूपमा बोल्न हिच्किचाउने गरेका छन् । हाललाई तेस्रो वरीयताको सहअध्यक्ष पदमा मौन स्वीकृति दिएकी रञ्जिताले सहअध्यक्षका रूपमा आफ्नो ठोस भूमिकाको स्पष्टता मागेको नाउपाका एक नेताले सौर्य दैनिकलाई बताए ।
विधान निर्माणकै चरणमा रहेकाले श्रेष्ठले विधान र नियमावलीलगायत कागजात बनिसकेपछि मुख खोल्न सक्ने ती नेताले बताए । पार्टी जोगाउनकै लागि ‘सेफ ल्यान्डिङ’ को बाटो रोजेका चौधरी र आफ्नो कार्यकारी भूमिका खेसिएकी श्रेष्ठबीच भविष्यमा पनि असमझदारी बढेर संगठनात्मक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भन्दै नाउपाका नेता÷कार्यकर्ताले चिन्ता व्यक्त गरिरहेका छन् ।
‘संरक्षक र अध्यक्षज्यूबीचमा अझै पनि एकताको विषयमा एक रूपको बुझाइ हुन सकेको छैन । अहिले हाम्रो पार्टीभित्र जुन प्रकारको कलह छ, त्यो कलह नयाँ पार्टीमा पनि दोहोरिँदैन भन्न सकिँदैन,’ सौर्य दैनिकसँग कुरा गर्दै नाउपाका ती नेताले भने ।
प्रतिक्रिया