फ्रान्सले प्यालेस्टाइनलाई जुनमा मान्यता दिने

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले प्यालेस्टाइनलाई मान्यता दिने कुरा गरेका छन् । प्यालेस्टाइनलाई मान्यता दिने योजना फ्रान्सले बनाइरहेको र जुनमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा यसको घोषणा गर्न सकिने एक मिडिया च्यानलसँग कुरा गर्दै उनले भने । ‘हामीले प्यालेस्टाइनलाई मान्यता दिने दिशामा अगाडि बढ्नुपर्छ र हामी आगामी महिनाहरूमा त्यसो गर्ने छौँ ।’ अझ अगाडि उनले भनेका छन् । म्याक्रोँ हालै इजिप्टको भ्रमणमा गएका थिए ।

म्याक्रोँले भने, ‘हाम्रो लक्ष्य साउदी अरबसँग संयुक्त राष्ट्र सम्मेलनको अध्यक्षता गर्नु हो, जहाँ हामी कैयौँ पक्षले यसलाई मान्यता दिनेछौँ ।’ उनले भने, ‘म यसकारण पनि यो गर्नेछु किनभने हामीलाई लाग्छ कि यो गर्नु सही हुनेछ । प्यालेस्टाइनलाई मान्यता दिएर फ्रान्सले इजरायलको अस्तित्वलाई अस्वीकार गर्न सक्दैन । फ्रान्स लामो समयदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वमा २ राज्य समाधानको समर्थक रहँदै आएको छ । यद्यपि, यदि फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दियो भने, यो एक ठूलो नीतिगत परिवर्तन हुनेछ र इजरायल रिसाउने जोखिम पनि छ ।’

लगभग १५० देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएको छ । यसमा आयरल्यान्ड, नर्वे, स्पेन आदि पनि छन् । इजरायलले २०२३ को अक्टोबर ७ मा गाजामा बमबारी गरेर हजारौँ मानिसहरूलाई मारेपछि गत वर्षको जुनमा स्लोभेनियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको थियो । फ्रान्स युरोपेली संघको एक महत्वपूर्ण देश हो । उसले प्यालेस्टाइनलाई मान्यता दियो भने यसको ठूलो प्रभाव पर्नेछ । इजिप्टको भ्रमणको क्रममा म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्तावको पनि आलोचना गरे । ट्रम्पले गाजालाई मध्य पूर्वको रिभेरा बनाउने वाचा गरेका थिए । गाजा पट्टी कुनै घर जग्गा परियोजना नभएको भन्दै म्याक्रोँले व्यंग्य गरेका थिए ।

प्रतिक्रिया