काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिए ।
उक्त हिटी कामपाको वडा नम्बर ७ गंगाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिएका थिए ।
भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गंगाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख साहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिएका हुन् ।
कामपा–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।
‘स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो, हिटीमाथि दुईतले पक्की संरचना थियो, यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो, यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए’, उनले भने ।
टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ । उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुंगेधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् ।
अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भनिन्, ‘यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो, विसं १९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ, हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ, उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो, अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।’
शैक्षिक गुणस्तरका लागि चार हजार बढी शिक्षकलाई तालिम
काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तर विकास र नतिजा सुधारका लागि विद्यालयका शिक्षकहरूलाई विभिन्न विधामा तालिम आयोजना गर्ने भएको छ । चार हजार ८० शिक्षकलाई लक्षित मानेर तालिम सञ्चालनको तयारी गर्न लागिएको कामपा सहरी योजना आयोगका सहायकविज्ञ विवेक बास्तोलाले जानकारी दिए ।
उनका अनुसार आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिमका सातवटा क्षेत्र रहनेछन् । तालिममा सहभागी हुन शिक्षकले अनलाइनबाट आवेदन दिनुपर्नेछ । सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकले आवेदन दिन पाउने बताउँदै उनले आवेदनको अन्तिम मिति वैशाख २ गतेसम्म रहेको जानकारी दिए ।
‘आवेदन दिँदा नाम थर, स्थायी ठेगाना, फोन नम्बर, इमेल ठेगाना, काम गरिरहेको शिक्षण संस्थाको नाम र ठेगाना, शिक्षण संस्थाको प्रकार (सामुदायिक वा संस्थागत), शिक्षण पेसामा काम गरिरहेको प्रमाण, नागरिकताको प्रमाणपत्र, परिचयपत्र वा नियुक्ति पत्रलगायत विवरण भर्नुपर्छ’, बास्तोलाले भने ।
आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिममा कक्षा ४ देखि १० सम्मका शिक्षकहरू एकीकृत सिकाइ, आन्तरिक मूल्यांकन नतिजा सुधारका लागि वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।
यही समूहका लागि वैशाख १३ देखि १५ गतेसम्म प्रश्नपत्र निर्माण तथा विश्लेषण तालिम हुनेछ । तालिमका लक्षित सहभागी शिक्षक क्रमशः ५४० र एक हजार २९० जना हो । यही समूहका शिक्षक सिकाइमा सूचना प्रविधिसम्बन्धी तालिम वैशाख १६ गतेदेखि सुरु हुनेछ । चारदिने यो तालिममा ४५० शिक्षक सहभागी हुनेछन् ।
कक्षा १ देखि ३ सम्मका शिक्षकलाई एकीकृत पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाका सहजकर्ताको वैशाख ८ गते सुरु हुने तालिम वैशाख २८ गतेसम्म सञ्चालन हुने कामपा सहरी योजना आयोगका सहायकविज्ञ बास्तोलाले जानकारी दिए । उहाँका अनुसार यी दुवै शीर्षकका हरेक तालिममा ४८०–४८० जना शिक्षकलाई सहभागी हुनेछन् ।
कक्षा ४ देखि ८ सम्मका शिक्षकहरूका लागि पुस्तकबिनाको सिकाइ (बुक फ्री फ्राइडे) सिर्जनात्मक सिकाइसम्बन्धी तालिम वैशाख २१ गते प्रारम्भ हुनेछ । तीन सय शिक्षकलाई सहभागी गराउने लक्ष्य राखिएको यो तालिम आगामी जेठ ४ गते सम्पन्न हुनेछ । यही समूहका शिक्षकलाई वृत्ति मार्गनिर्देशन तथा मनोसामाजिक परामर्शसम्बन्धी तालिम आगामी जेठ ४ गते सुरु भएर ८ गते समापन हुनेछ । यसमा ५४० जना शिक्षक सहभागी हुनेछन् ।
प्रतिक्रिया