काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर २०८२ वैशाख २ गतेबाट प्रतिष्ठानमा पहिलो पटक ‘ललितकला मेला– २०८२’ हुने भएको छ ।
विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गर्न लागिएको हो ।
मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसुन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरू समेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ । समग्रमा यस मेलाले नेपाली ललितकलाको विकासमा टेवा पुर्याउने छ ।
प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘हामीले यस मेलामा ललितकलाका सबै विधालाई समेट्ने प्रयास गरेका छौँ, मेलामा अवलोकनकर्ताले कलाको स्टल मात्र नभई कलाकारले प्रत्यक्ष सिर्जना गरेका कलाकृति पनि देख्नुहुने छ, यसका साथै विविध किसिमका सांस्कृतिक–साहित्यिक कार्यक्रम, गोष्ठी पनि हुने छ ।’
लामाका अनुसार यस मेलाले प्रतिष्ठान परिसरलाई कलाको केन्द्रबिन्दु बनाउन थप सहयोग गर्ने छ । नेपालमा प्रचलित ललितकलाका सबै विधालाई समेटेर हुने मेलामा विद्यार्थी, बुद्धिजीवी, अर्थशास्त्री, राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिकर्मीलगायतसँगै स्वदेशी तथा विदेशी कला अनुरागीहरूको समेत उपस्थिति रहने छ, जसले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचारप्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकास, ललितकलाको सामाजिक अभिवृद्धि बढाउनेलगायतका काम गर्ने छ । ५० भन्दा बढी स्टल रहने मेला २०८२ वैशाख ६ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया