काठमाडौं । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्यांग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्यांग केन्द्रमा १००.२ मिलीमिटर वर्षा भएको जानकारी गराएको छ ।
विभागका अनुसार बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरण अनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।
‘उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्यांग केन्द्रमा १००.२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ’, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।
विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मोसमविद् हरिप्रसाद दाहालले हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णली प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिए । ‘हाल पश्चिमी वायुको सामान्य प्रभाव छ, आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ’, उनले भने ।
वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’को तथ्यांक अनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ ।
प्रतिक्रिया