काठमाडौँ । सहकारी तथा वित्तीय पीडित समस्या समाधान संयुक्त राष्ट्रिय अभियानमा महासंंघले आन्दोलनको क्रममा पक्राउ परेका पीडितहरूलाई तत्काल रिहा गर्न माग गरेको छ । चैत्र २७ गते देशभरका १५ स्थानहरूमा राँके जुलुस निकाल्ने क्रममा २४ जना पीडित पक्राउ परेको महासंघले जनाएको छ ।
नयाँ बसपार्क क्षेत्रबाट देव श्रेष्ठसहित १३ जना र माइतीघर मण्डला क्षेत्रबाट ११ जनालाई गिरफ्तार गरि पीडितहरूलाई रातभर हिरासतमा राखी अमानवीय व्यवहार गरिएको महासंघको आरोप छ । महासंघले विज्ञप्तिमा भनेको छ, ‘यसप्रकारको दमनकारी र अवैधानिक व्यवहारप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ । हामी यसभन्दा अगाडि पटकपटक सरकारसँग भएका सम्झौता कार्यान्वयनको पक्षमा छौँ । — तर आत्मसम्मान र न्याय बिना होइन ।’
महासंघले गिरफ्तार गरिएका सबै पीडितहरूलाई बिना शर्त तुरुन्त रिहा गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा दमन नगरी वार्ताको माध्यमबाट समाधानको बाटो खोज्नु पर्ने र पीडितहरूलाई न्याय दिन सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
उक्त मागहरू यथाशीघ्र पूरा नगरिए आन्दोलनलाई थप उग्र रूप दिने र देशभर व्यापक जनप्रदर्शन गर्ने पीडितहरुले चेतावनी दिएका छन् ।
महासंघले चैत्र २५ गते राष्ट्रपति रामचन्द्र पौडेल र २७ गते प्रधानमन्त्री केपी हर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । दुबै ठाउँबाट कुनै औपचारिक जवाफ प्राप्त नभएको भन्दै चैत २७ गते देशभरका १५ स्थानहरूमा राँके जुलुस आयोजना गरेका गरेको थियो । देशभर फैलिएको सहकारी तथा वित्तीय संस्थाहरूमा सर्वसाधारण जनताको मेहनतको पसिनाले कमाएको पूँजी डुबेको सन्दर्भमा र पटकपटक भएको सम्झौता कार्यान्वयनको पक्षमा रहेको पीडितले बताएका छन् ।
प्रतिक्रिया