चार देशीय टी–२० क्रिकेट : नेपालले कुवेतलाई ६ विकेटले हरायो

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज खेल भएको थियो ।

टस हनरेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले दिको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

कुवेतविरुद्ध आज बिहीबारको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । यी दुई जनाले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए । १४औँ ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो ।

आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन बनाए । त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए । ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए । उनले समान ६–६ चौका र छक्का प्रहार गरेका थिए ।

त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो । ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए ।

त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए । दीपेन्द्रले १८औँ ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो । उनी १९औँ ओभरको पहिलो बलमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए । गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।

अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन बनाए । उनी दशौँ ओभरमा आउट हुँदा कुवेत ९७–२ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४औँ ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन बनाए । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैँ क्याच गर्दै पेभेलियन फर्काए ।

त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने । नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १–१ विकेट लिए । आज हुने दोस्रो खेलमा आयोजक हङकङले कतारको सामना गर्नेछ ।

सिरिजको पहिलो दिन नेपालले १५२ रनको लक्ष्य पछ्याउँदै कतारलाई ८ विकेटले हराएको थियो । कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा १७६ रनको लक्ष्य पछ्याएको थियो । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालको २ खेलमा ४ अंक हुँदा कुवेतको २ अंक छ । कतार र हङकङले खाता खोल्न प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया