काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ दाउनेमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाण्डौबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको मे १ ख ३३९४ नम्बरको हाईस गाडीलाई ठक्कर दिँदै सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटना बिहान ८:२५ बजे पानी परिरहेको अवस्थामा बीपी राजमार्गमा ब्रेक नलागी चिप्लिएको कारण भएको प्रहरीले जनाएको छ । बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचारका लागि पठाइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक पुष्कर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली परिचालन गरिएको थियो । बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान इप्रका मंगलटारबाट करिब १ किलोमिटर पश्चिममा पर्छ।
प्रतिक्रिया