सकियो ‘कुस्ती’को छायांकन

काठमाडौँ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकनरत फिल्म ‘कुस्ती’ को छायांकन सकिएको छ । छायांकनको ३९औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन संघर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए ।

‘कुस्ती एकअर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो’, उनले भने ।

छायांकन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको फिल्ममा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दिकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

एमटिभीको चर्चित भारतीय रियालिटी सो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो । ‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायांकन गरेका हौँ । दर्शकले धीरज र मिरुनाको जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने काम गरेज छौँ’, निर्देशक योञ्जनले भने ।
उनले फिल्मको छायांकनकै क्रममा अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउँदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धीरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकारसम्बन्धी छलफल अन्तिम चरणमा छ ।

फिल्ममा उमग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ । काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया