लसुनको अस्वभाविक आयात

सम्पादकीय

करिब ३ करोड जनसंख्या भएको देश नेपालमा वार्षिक करिब ८ करोड किलोग्राम लसुन उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । यो तथ्यांक विश्लेषण गर्ने हो भने नेपालमा उत्पादित लसुन स्वदेशी माग धान्न मात्रै पर्याप्त होइन, सानोतिनो अंशमा निर्यात गर्न सकिने सम्भावनासमेत देखिन्छ । तर, छिमेकी देश चीनबाट ठुलो परिमाणमा लसुन आयात हुने गरेको छ । चालु आर्थिक वर्षको सुरुको ६ महिनाको अवधिमा मात्रै चीनबाट करिब ४ करोड किलो लसुन आयात भएको सरकारी तथ्यांक छ । तर निर्यातको तथ्यांक हेर्ने हो भने नगन्य देखिन्छ । त्यसकारण चीनबाट लसुन आयात गरी भारत तस्करी गर्ने गरेको आरोप नेपालमाथि लाग्दै आएको छ ।

नेपालबाट भारतमा अवैध रूपमा लसुन जाने गरेको पक्कापक्की हो, तर नेपालमै उत्पादित लसुन भारत पुग्ने गरेको हो कि ? चीनबाट आयतित लसुन भारत पुग्ने गरेको हो ? भन्ने कुरा एकीन हुन सकेको छैन । भारतले चीनमा उत्पादित लसुन स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै आयातमा प्रतिबन्ध मात्रै लगाएको छैन नेपालमार्फत् तस्करी भएर गएको चिनियाँ लसुनसमेत खोजी खोजी नष्ट गर्ने गरिएको समाचार भारतीय मिडियामा आउने गरेको छ । नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर दुरीमा मात्रै करोडौँ भारतीय जनताको बसोबास छ । उनीहरूले घरायसी उपभोगका लागि नेपाली बजारमा आएर २–४ किलो लसुन लैजानुलाई तस्करी भन्न मिल्दैन । यस्तो प्रचलन दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकमा छ । तर यसरी भएको बिक्री निर्यातको अभिलेखमा रहँदैन ।

नेपाली बजारमा चिनियाँ लसुनको तुलनामा स्वदेशी लसुन नगन्य रूपमा बिक्रीका लागि राखिएको देखिन्छ । एकातिर नेपालमा वार्षिक करिब ८ करोड किलो लसुन उत्पादन हुनु, अर्कोतिर स्वदेशी बजारमा नेपाली लसुन खासै नदेखिनुको कारणका विषयमा अनुमान लगाउन अप्ठेरो छैन । स्वदेशी लसुन भारत जाने गरेको र आयातित चिनियाँ लसुनले नेपालको बजार माग धानेको अनुमान सजिलै लगाउन सकिन्छ । भारतले दाबी गरेजस्तो चीनबाट आयात भएको लसुन स्वास्थ्यका लागि हनिकारक हो वा होइन ? भन्ने प्रश्न आफ्नो ठाउँमा छ । तर, भारतसँग खुला सिमाना भएकोले चीनबाट लसुन आयात गर्नु नेपालका लागि वाध्यता हो । किनकी भारतमा मूल्य बढी भएका कारण तराईमा उत्पादित लसुन सजिलै भारतमा पुुग्छ । यहाँ आएर मात्र चीनबाट लसुन आयात भएको कुराको औचित्य पुष्टि हुन्छ ।

१० वर्षअघि प्रतिकेजी ३०–४० रुपैयाँ पर्ने लसुनको मूल्य हरेक वर्ष बढ्दै जाँदा यतिबेला ३६० रुपैयाँ पुगेको छ । केही महिनाअघि त ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय स्तरमै माग बढेको र माग अनुसारको उत्पादन हुन नसकेका कारण मूल्य बढेको हो । १० वर्षअघि भन्दा अहिले स्वदेशमै पनि लसुनको उत्पादन डेढ गुणा बढेको सरकारी तथ्यांक छ । तर मूल्य बढेको अनुपातमा किसानहरू लसुन खेतीमा आकर्षण त्यति देखिन सकेको छैन । हुन त नेपालको कृषि नीति प्रायः सबै क्षेत्रमा असफल छ, त्यसमा पनि लसुनखेतीमा थप असफल भएको स्पष्ट छ । किनकी चीनबाट १ केजी लसुन आयात गर्दा ढुवानी भाडा तथा अन्य शुल्क गरी ४०–५० रुपैयाँसम्म खर्च हुने ब्यापारीहरूको भनाइ छ । यति ठुलो खर्च गरिएर ल्याइएको लसुनसँग नेपाली लसुनले प्रतिस्पर्धा गर्न नसक्नु भनेको सरकारको कमजोरी हो । ब्यापारीका लागि अवसर बनिरहेको लसुनको मूल्यवृद्धिलाई किसानका लागि अवसर बनाउन कसरी सकिन्छ ? भन्ने मामिलामा नुवाकोट जिल्लाको लिखु गाउँपालिका एउटा उदाहरण बन्न सक्छ । पालिकाले यस वर्षदेखि ढिकुरे फाँटको ३०० रोपनी जग्गा भाडामा लिएर चिनियाँ प्र्राविधिज्ञ झिकाई नमुना लसुन खेती अभियान सुरु गरेको छ । यो अभियान तराई क्षेत्रका पालिकाहरूका लागि नमुना बन्न सक्छ ।

प्रतिक्रिया