नेपालका कम्युनिस्टहरू मध्ये मेरो सबैभन्दा पहिलो सम्बन्ध उहाँसित नै भएको थियो । त्यतिबेला उहाँका पिता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । कोइराला प्रधानमन्त्री भएको बेलामा म प्रायजसो उहाँको निवासमा जाने गर्दथेँ र त्यही बेला कमल कोइरालासित पनि परिचय भएको थियो । त्यो बेला पनि उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो, तर म अझै पार्टीमा सामेल भएको थिइनँ ।
वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ कमल कोइरालाको ८७ वर्षको उमेरमा यही १७ चैतमा निधन भएको छ । उहाँ एउटा इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँ जीवनभरि नै त्यही रूपमा बाँच्नुभयो र त्यही प्रकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुभयो ।
उहाँसित मेरो धेरै लामो सम्बन्ध रहेको छ । नेपालका कम्युनिस्टहरू मध्ये मेरो सबैभन्दा पहिलो सम्बन्ध उहाँसित नै भएको थियो । कत्यतिबेला उहाँका पिता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । कोइराला प्रधानमन्त्री भएको बेलामा म प्रायजसो उहाँको निवासमा जाने गर्दथेँ र त्यही बेला कमल कोइरालासित पनि परिचय भएको थियो । त्यो बेला पनि उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो, तर म अझै पार्टीमा सामेल भएको थिइनँ । २०१० सालमा मैले कम्युनिस्ट पार्टीमा प्रवेश गरँे । २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा भएको पार्टीको द्वितीय महाधिवेशनमा उहाँ र म दुवै जना प्रतिनिधि थियौँ ।
२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरंकुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम गरेपछि हाम्रो पार्टीको ऐतिहासिक दरभंगा प्लेनम भएको थियो । त्यो प्लेनममा कामरेड निर्मल लामा, कामरेड भरतमोहन, कामरेड हिरण्यलाल आदि हामी सबैले डा.केशरजंग रायमाझीको राजावादी लाइनका विरुद्ध र संविधानसभाको लाइनको पक्षमा संघर्ष गरेका थियौँ । म पहिले तौलिहवामा गिरफ्तार भएको थिएँ र पछि मलाई कतिपय जेलहरूमा हुँदै काठमाडौँको भद्रगोल जेलमा पुर्याइएको थियो । त्यो बेला कमल कोइराला पनि त्यही जेलमा हुनुहुन्थ्यो । त्यो बेला तृतीय महाधिवेशनद्वारा सम्पन्न केन्द्रीय कमिटीको विघटन भइसकेको थियो र पार्टी कैयौँ टुक्रामा विभाजित भइसकेको थियो ।
त्यो बेला भद्रगोल जेलमा पार्टीका करिब १५ जना साथीहरू एकैसाथ हुनुहुन्थ्यो, जसमा कामरेड निर्मल लामा, कामरेड भक्तबहादुर, कामरेड गोविन्द ढुंगाना, कामरेड बाबुकाजी गोसाई, कामरेड सिन्धुनाथ प्याकुरेल आदि हुनुहुन्थ्यो । हामीले पार्टीको त्यो बेलाको स्थितिको समग्र मूल्यांकन गरेर ३ वटा प्रस्तावहरू तयार पारेका थियौँ । माओत्सेतुङ विचारधाराबारे, जनक्रान्ति र संयुक्त मोर्चाबारे तथा कोअर्डिनेसनबारे । त्यही बैठकले नै पार्टीको इतिहासमा पहिलोपटक त्यो बेलासम्म पार्टीले अपनाएको नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजीपतिवर्गको पार्टी र नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मान्ने विश्लेषणलाई बदलेर त्यसलाई राजासरह सामन्त, दलाल, नोकरशाही पुँजीपतिवर्गको पार्टी तथा दुश्मनशक्ति मान्ने विश्लेषण गरेको थियो । त्यो बेला नै पार्टीले माओविचारधारालाई मान्ने निर्णय पनि गरेको थियो । हामीले ती तीन वटै दस्ताबेजहरू जेल बाहिर पठाएका थियौँ । ती दस्ताबेजहरू अहिले उपलब्ध छैनन् ।
हामी जेलबाट छुटेपछि २०२८ मंसिर २० गते काठमाडौँमा भूमिगत रूपले पार्टीको एउटा भेला भयो र त्यसले एकीकृत पार्टीको निर्माणका लागि एउटा केन्द्रीय न्यूक्लसको गठन गर्यो । त्यो न्यूक्लसमा कमरेड भरतमोहन अधिकारी र का. कमल कोइराला पनि हुनुहुन्थ्यो । न्यूक्लसले २०३० फागुनमा सिराहामा पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो न्यूक्लसमा चौथो महाधिवेशनमा पेस गर्नका लगि कैयौँ दस्ताबेजहरू तयार पारिएका थिए । ती दस्ताबेजहरूमा प्रस्तावित कैयौँ विचारहरू, मुख्यतः माओ विचारधारा र नेकाको नयाँँ विश्लेषणसम्बन्धी विचारहरूमा का. मनमोहनको मात्र मतभेद थियो र कमल कोइरालासहित हामी सबैका बीचमा सहमति थियो ।
तर मनमोहन अधिकारीले महाधिवेशन गर्ने समाचार बाहिर लगिदिएपछि केन्द्रीय न्यूक्लसको आकस्मिक बैठक सिराहामा बस्यो । त्यो बैठकले महाधिवेशनसम्बन्धी गोप्यतालाई भंग गरिदिएको हुनाले मनमोहनजीलाई सर्वसम्मतिले पार्टीबाट निष्कासित गर्ने निर्णय गर्यो, जसमा भरतमोहन अधिकारी र कमल कोइरालाको पनि सहमति थियो । त्यो बैठकले नै २०३१ को आषाढमा बनारसमा पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर त्यो महाधिवेशनमा भरतमोहनजी र कमलजी दुवै जना उपस्थित हुनुभएन । त्यसपछि उहाँहरूसितको हाम्रो पार्टीको सम्बन्ध टुट्यो र पछि उहाँहरू दुवै जना एमालेमा सामेल हुनुभयो ।
कमलजी बेग्लै पार्टीमा भए पनि व्यक्तिगत रूपमा उहाँसित मेरो मैत्रीपूर्ण सम्बन्ध रही नै रह्यो । काठमाडौँका कतिपय कार्यक्रमहरूमा उहाँसित प्रायशः मेरो भेट भइरह्यो । पछि उहाँ केही अस्वस्थ हुँदै जानुभयो । मैले उहाँको घरमा भेट्न जानका लागि कैयौँपल्ट फोन गरेँ । उहाँँले एकपटक मलाई भेट्न म कहाँ आउने बताउनुभएको थियो । तर आउन सक्नु भएन । मैले पछि उहाँलाई भेट्न आउन कैयौँपल्ट फोन गरेँ । तर फोन उठेन । मैले उहाँको घरको ठेगाना पत्ता लगाउन सकिनँ र उहाँँलाई भेट्न जान पनि सकिनँ । भेट्न जाने विचार गर्दै थिएँ अकस्मात् उहाँको मृत्यु भएको समाचार सुनेँ । त्यसबाट मलाई धेरै दुःख लागेको छ ।
खास गरेर उहाँँलाई भेट्न जान नपाएकोमा र उहाँ सिँडीबाट झर्दा लडेर अस्पतालमा भर्ना भएको समाचारसमेत थाहा नभएर उहाँको मृत्युपछि नै मलाई त्यो समाचार प्राप्त भएकोमा पनि मलाई धेरै दुःख लागेको छ । त्यो बेला स्टालिनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय विचार गोष्ठीमा भाग लिन म विदेश गएको थिएँ । सायद त्यसैले पनि उहाँको दुर्घटना भएर अस्पतालमा भर्ना भएको समाचार मलाई प्राप्त नभएको हुन सक्छ । उहाँ पार्टीको मेरो सबभन्दा पुरानो र पहिलो परिचित मित्र हुनुहुन्थ्यो । पार्टीको इतिहासमा बेग्लाबेग्लै कालखण्डमा हामीले सँगसँगै काम वा संघर्षहरू पनि गरेका थियौँ । उहाँको आकस्मिक र असामयिक मृत्युबाट मलाई धेरै नै दुःख लागेको छ ।
जेहोस्, एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उहाँको श्रद्धाञ्जली कार्यक्रममा म पुग्न पाएको थिएँ र त्यसका लागि मलाई सन्तोष लागेको छ । त्यो कार्यक्रमको पनि समाचार नपाएर उपस्थित हुन नपाएको भए मलाई धेरै दुःख लाग्ने थियो । अन्तमा, कामरेड कमल कोइरालाप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।
प्रतिक्रिया