कैलाली । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एक जनाको शव लतपतिएकाे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । ढुंगाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले बताए ।
शव नजिकै रगत लागेको ढुंगा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगाबाहेक कुनै सामान फेला नपरेको जानकारी दिए । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्रांगणमा लतपतिएकाे अवस्थामा छ ।
मन्दिरबाट घिसारेर शव तल फालिएकोजस्तो देखिएको प्रनाउ थापाको भनाइ छ । उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।– रासस
प्रतिक्रिया