रवि लामिछानेको न्यायका लागि रास्वपा पुग्यो मानव अधिकार आयोग

काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको न्यायका लागि उनकै पार्टी मानव अधिकार आयोगमा पुगेर ध्यानाकर्षण गराएको छ । सभापति लामिछाने रुपन्देहीको सुप्रीम सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान भएका छन् ।

बुधबार रास्वपाले सभापति लामिछानेको जिउज्यान खतरामा रहेको भन्दै मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको हो । पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा रविलाई पक्राउ गर्दा पीडितको मानवअधिकार उल्लंघन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न भनिएको छ । उनले भने, ‘सभापति रवि लामिछानेज्यूमाथि भएको प्रहरी ज्यादती र मानव अधिकार हननको घटनाविरुद्ध पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको हो ।’

बुर्लाकोटीले पक्राउका लागि पुगेका प्रहरीको शैली र अभिव्यक्तिले रवि लामिछानेको जिउज्यान खतरामा रहेको देखिएकोले ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक कारबाही गर्न भनिएको छ ।

‘राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राजयसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउनेगरी राजयसंयन्त्र उत्रियो। यसको घोर भर्त्सना गर्दछौँ,’ बुर्लाकोटीले भने।

गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर पक्राउ गरेको थियो । सभापति लामिछानेलाई जिल्ला कारागार रुपन्देहीको ब्लक नम्बर ४ मा राखिएको छ ।

प्रतिक्रिया