बैंकमै गएर ल्याप्चे लगाउने चलनको अन्त्य नभएसम्म डिजिटल बैंकिङको अर्थ रहँदैन

अन्तर्वार्ता

सञ्जिवचन्द्र न्यौपाने, चिफ ग्रोथ अफिसर, आइएमई पे

जति डिजिटल भए पनि सामान्य समस्यामा पनि बैंकमै जानुपर्ने र बैंकमा गएर ल्याप्चे लगाउने चलनको अन्त्य नभएसम्म हामी पूर्ण डिजिटलाइजेसनमा प्रवेश गर्न सक्दैनौँ । डिजिटल बैंकिङ भनेको छ, तर खाता खोल्न बैंक नै धाउनुपर्छ भने त्यसलाई कसरी डिजिटल बैंकिङ मान्ने ?

नेपालमा डिजिटल बैंकिङको अवस्था कस्तो छ ?

नेपालमा १ करोडभन्दा बढी नागरिकको बैंक खाता छ । र, उनीहरूको डिजिटल बैंकिङमा पहुँछ छ । तर, कुल जनसंख्यामध्ये ५० लाखले मात्र डिजिटल बैंकिङ र यसका प्रोडक्टहरू प्रयोग गरिरहेका छन् । जसमा डिजिटल बैंकिङ र वालेट छन् । नेपालको सन्दर्भमा करोनापछिको समयदेखि डिजिटल बैंकिङको प्रयोगमा व्यापक वृद्धि भएको छ । नेपालीहरूले लकडाउनको समयमा जसरी डिजिटल बैंकिङलाई आत्मसात गरे त्यो निकै महत्वपूर्ण साबित भइरहेको छ ।

डिजिटल बैंकिङको प्रयोगमा सन्तोष गर्ने ठाउँ भए पनि यसको वृद्धिदरचाहिँ कस्तो छ ?

तत्कालको अवस्थालाई आधार मान्ने हो भने त वृद्धिदर त्यति सन्तोषजनक नहुनसक्छ । तर, बिगत ५ वर्षको समयलाई औसत रूपमा हेर्ने हो भने निकै राम्रो छ । त्यही कोरोनाकालले नै डिजिटल बैंकिङलाई अहिलेको अवस्थामा ल्याएको हो । बैंकमा खाता हुनेहरू लगभग यसमा जोडिइसकेका छन् । यो वृद्धिदर अबको २–३ वर्षसम्म जारी रहन्छ र त्यसपछि स्थिर हुन्छ भन्ने हाम्रो अनुमान छ । कम जनसंख्या, प्रविधिमा निकै पछाडि र कम साक्षरताका बाबजुद डिजिटल बैंकिङको क्षेत्रमा हामीले मारेको फड्को एकदमै राम्रो हो ।

अबका दिनमा बैंकिङ क्षेत्रले सामना गर्नुपर्ने चुनौतीहरू के–के छन् ?

भविष्यमा हामीसामु चुनौतीका चाङ लाग्ने देख्छु म त । हाम्रा युथहरू सबै बिदेसिँदै छन् । जानेका, बुझेका र सक्रिय प्रयोगकर्ता नै नभएपछि बैंकसँगै अन्य उद्योगमा यसको प्रत्यक्ष असर पर्छ । अर्को चुनौती भनेको परम्परागत रूपमा नै बैंकिङ कारोबार गर्ने उमेरसमूहका ग्राहकहरू पनि हुन् । उहाँहरूलाई सिकाउने युवा पुस्ताहरू बिदेसिने र उहाँहरू स्वयं पनि यसलाई ग्रहण गर्न नसक्ने अवस्थामा भएकाले समस्या छ ।

हामी सेवा प्रदायकहरूकै कारणले पनि समस्या देखिएको छ । जति डिजिटल भए पनि सामान्य समस्यामा पनि बैंकमै जानुपर्ने र बैंकमा गएर ल्याप्चे हाल्ने चलनको अन्त्य नभएसम्म हामी पूर्ण डिजिटलाइजेसनमा प्रवेश गर्न सक्दैनौँ । डिजिटल बैंकिङ भनेको छ, तर खाता खोल्न बैंक नै धाउनुपर्छ भने त्यसलाई कसरी डिजिटल बैंकिङ मान्ने ? ग्राहकहरूले दोहो¥याइरहने प्रश्न हो यो । यसलाई हामीले पनि स्वीकार्नुपर्छ ।

बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसनमा लान पहल गर्नुपर्ने कसले हो ?

यहाँ सबैभन्दा ठुलो समस्या भनेको लगानीकै हो । कुनै एउटै बैंकका ग्राहक १ करोड भइदिएको भए आवश्यक सिस्टम भित्र्याउनेदेखि प्रविधिको विकासमा लगानी गर्न सक्थ्यो । तर, यहाँ त भए भरका बैंकहरूमा करिब १ करोड नागरिकका २ करोड खाता बाँडिएका छन् । यस्तो अवस्थामा बैंकहरूले लगानी गर्नसक्ने अवस्था पनि छैन ।

यस्तो अवस्थामा सरकार आफैँले पहल गर्नुपर्ने हुन्छ । त्यो भनेको सबै नागरिकको विवरण केन्द्रिकृत गर्नु हो । भारतमा युपिआईले राष्ट्रिय परिचयपत्रलाई कनेक्ट गरेको छ । यसो हुँदा सबै बैंकलाई नागरिकको विवरण प्रमाणित गर्न पनि सहज हुन्छ । सरकारले नै कुनै व्यक्तिको विवरण प्रमाणित गरेर डिजिटलाइज गरिसकेपछि बैंकहरूले फेरि भेरिफाइ गरिरहन परेन ।

नेपालको सन्दर्भमा बर्खरै बामे सर्दै गरेको डिजिटल बैंकिङको अबको बाटो के हो ?

अब हामीले बैंकिङ एप, मोबाइल बैंकिङ, ई–बैंकिङलाई अहिलेको जस्तै सीमिततामा राखेर हुँदैन । मोबाइल बैंकिङ एपबाटै सेयर कारोबार गर्नसक्ने हुनुप¥यो, एक क्लिकमा ऋण लिन सक्ने हुनुप¥यो, आर्थिक कारोबारको सम्पूर्ण क्षेत्रलाई डिजिटल बैंकिङले समेट्न सक्नुप¥यो । अहिले बैंकहरू टपअप र क्युआरमै सीमित छन् । अब बैंकहरूले एक तहमाथि उठेर सेवा प्रवाह गर्नुपर्छ । बैंकमा ग्राहकको नागरिकता ओल्टाइपल्टाइ गर्दै मान्छेको मुख हेरेर प्रमाणित गर्ने प्रचलन अब रहनु हुँदैन । डिजिटल बैंकिङको परिकल्पना पनि यो होइन । हामी सेवाप्रदायकहरू पनि अब एड्भान्स हुनुपर्छ ।

डिजिटल बैंकिङ र यसको विकासको कुरा गरिरहँदा वित्तीय साक्षरताको पाटोलाई बैंकहरूले कसरी हेरेका छन् ?

बैंकहरूले नयाँ–नयाँ प्रविधि भित्र्याउने, तर त्यसको प्रयोग गर्नचाहिँ नसिकाउने हो भने ती प्रविधिमा खर्च गर्नुको कुनै अर्थ हुँदैन । यसका लागि बैंकहरूले पोस्टर मात्र टाँसेर हुँदैन, वित्तीयसँगै प्रविधियुक्त वित्तीय साक्षरता गाउँ गाउँसम्म पु¥याउन जरुरी हुन्छ । यसका लागि स्थानीय भाषामा भिडियो बनाउनेदेखि जनचेनामूलक कार्यक्रमहरू गर्नुपर्छ । यो १–२ पटक गरेर पुग्दैन, निरन्तर रूपमा चलिरहनुपर्छ । अझ यसलाई त विद्यालय तहसम्म पु¥याउनुपर्छ । कुनै ठाउँमा एउटा कार्यक्रम गर्ने र ठुला होटेलमा गएर सेमिनार गरेका भरमा वित्तीय साक्षरता र त्यसको परिणाम देखाउन सकिँदैन ।

प्रतिक्रिया