काठमाडौँ । काठमाडौँ उपत्यका मंगलबार पनि विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रह्यो । हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मंगलबार बिहान ७ः४५ बजे काठमाडौँको २६१ थियो भने ८ः४५ मा २७९ पुगेर प्रदूषित सहरको शीर्ष स्थानमा उक्लेको हो ।
गत चैत ८ गतेदेखि निरन्तर खस्किएको वायु गुणस्तर हाल ‘निकै अस्वस्थकर’ तहमा छ । अझ चिन्ताको कुरा त यो प्रदूषणको कहर तराईका सहर, चुरे र हिमालको फेदीसम्मै पुगेको छ । मंगलबार पहाडी जिल्ला इलामको एक्युआई १८२ र हिमाली जिल्ला मुगुको १६३ पुग्नुले प्रदूषण देशव्यापी रूपमा फैलिँदै छ भन्ने कुराको संकेत गर्छ ।
विज्ञ र सरोकारवालाहरू अहिलेको प्रदूषणको अवस्थालाई सामान्य रूपमा नलिन आग्रह गर्छन् । काठमाडौँसहित देशैभर बढेको प्रदूषण रोकथाममा एक–अर्को निकायबीच सहकार्य र समन्वय गर्न उनीहरूको जोड छ । ‘अहिलेको मुख्य समस्या डढेलोको हो । खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहोरमैला जलाउँदा प्रदूषण बढेको छ,’ वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘वायु प्रदूषणको कहर ः जबाफदेही को ?’ शीर्षकको बहसमा भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन् । समाधानका उपायहरू खोज्न ढिलो गर्नहुँदैन ।’
उनका अनुसार विश्वमै खुला ठाउँमा कृषि अवशेष जलाउने कार्यमा नेपालको भूमिका २ प्रतिशत हाराहारी छ । विस्थापित गर्ने भनिएका युरो–१ र युरो–३ मापदण्डका सवारीसाधनले फाल्ने धुवाँ, उद्योग कलकारखानाबाट निस्किने प्रदूषण समस्याका नियमित कारण बनिरहेको दासले बताए ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार गत ८ चैत (२१ मार्च)देखि हरेक दिन काठमाडौँ र नेपालका अन्य भेगको प्रदूषण निरन्तर खस्किरहेको छ । ‘नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिल महिनासम्म प्रदूषण बढ्ने गर्छ । यसमा अन्तरदेशीय कारण पनि छन्,’ इमिमोडकी वायु गुणस्तर विज्ञ डा. खुश्बु शर्माले भनिन्, ‘प्रदूषण बढ्नु–घट्नुमा वायुको प्रभाव पनि रहन्छ ।’
उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक एक्युआई मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको छ । एक्युआई २०० भन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ । गत २३ चैतमा भक्तपुरमा एक्युआई ३६५ पुगेको थियो । त्यसअघि र पछिका दिनमा पनि २४ घन्टा र प्रत्येक घन्टाको वायुमा विषाक्त कणको मात्रा उच्च भएपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ ।
प्रदूषणका कारण श्वासप्रश्वास समस्या भएका दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने गरेको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘हरेक वर्ष नेपालीको कुल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको छ । प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीको औसत आयु घटिरहेको छ ।’
सरकारले प्रदूषण नियन्त्रणका लागि हरेक वर्ष ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने गरे पनि सो रकम यही शीर्षकमा खर्च हुन नसकेको बताउँदै बुढाथोकीले भने, ‘सरकारी निकायहरूले विज्ञप्ति जारी गर्दैमा समस्या समाधान हुँदैन । विगतमा बनेका योजना÷कार्ययोजना कागजमै सीमित छन् ।’ वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्युनीकरण गर्न एक–अर्को निकायबीच आरोप÷प्रत्यारोपभन्दा सबै निकाय र व्यक्ति आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने तर्क गरे ।
प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, सवारी प्रदूषण परीक्षण हुने गरेको उनले बताए ।
ट्राफिक प्रहरी, यायातात व्यवस्था विभाग, काठमाडौँ र ललितपुर महानगर कार्यालयसँगको सहकार्यमा विभागले सवारी अनुगमन गर्दै आएको सुवेदीको भनाइ थियो । तर, सवारीको प्रदूषण परीक्षणका लागि छुट्टै सवारी पार्किङ क्षेत्र र स्रोतसाधन आवश्यक रहेको उनले बताए । ५० प्रतिशतभन्दा बढी सवारीसाधन प्रदूषण परीक्षणमा मापदण्ड विपरीत हुने गरेको पाइएको तथ्य प्रस्तुत गर्दै उनले सरकारी सवारीसाधन पनि परीक्षणमा फेल हुने गरेको स्वीकारे ।
प्रतिक्रिया