दसौँ राष्ट्रिय खेलकुद अनिश्चित, आयोजना स्थल कर्णाली नै ‘बेखबर’

खेलकुदमा समेत राजनीतिको गिद्धे नजर

काठमाडौँ । एकपछि अर्को गरी आयोजना मिति फेरिएको १०औँ राष्ट्रिय खेलकुद अझै अनिश्चित छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय भएको प्रतियोगिता राजनीतिक दाउपेचका कारण अनिश्चित बनेको हो । कमजोर तयारी र दक्षताभन्दा आफ्नालाई प्राथमिकता दिँदै ‘अवसर दिने’ खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रवृत्तिका कारण राष्ट्रिय खेलकुद नै अन्योलग्रस्त बनेको हो । प्रतियोगिता आयोजनाका लागि प्रस्तावित कर्णाली प्रदेश खेलकुद परिषद्प्रति गरिएको बेवास्ता तथा सत्तारुढ दलभित्रको गुटबन्दीका कारण अनिश्चिचता अझै बढेको छ ।

कमजोर भौतिक संरचना

अहिलेसम्म १०औँ राष्ट्रिय खेलकुदको मिति ३ पटक सरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका मन्त्री चौधरीको अध्यक्षतामा मध्य फागुनमा बसेको १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि राखेपको ११८औँ बोर्ड बैठकले २०८१ चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो भने त्यसअघि २०८१ मंसिरमा प्रतियोगिता गर्ने भनिएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता ३ पटक सरे पनि यसको तयारी भने अझै पूरा भएको छैन । प्रतियोगिताका लागि हालसम्म निर्देशिकासमेत बनाइएको छैन, न त काम गर्ने आवश्यक कर्मचारी नै छन् । सुर्खेतमा हुने प्रतियोगिताका लागि काठमाडौँमा सचिवालय स्थापना गरिएको छ । सबैभन्दा आश्चर्य त जहाँ प्रतियोगिता हुने हो, त्यहाँको खेलकुद परिषद्सँग समन्वयसमेत गरिएको छैन ।

राजनीतिक प्रतिशोधकै कारण लामो समयसम्म कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सन्जेललाई बेवास्ता गरिएको आरोप छ । गत माघमा उनको कार्यकाल सकिए पनि हालसम्म नयाँ सदस्यसचिव नियुक्त गरिएको छैन । तत्कालीन सदस्यसचिव सन्जेल पोखरामा रहेको अन्तर्राष्ट्रिय रंगशालाका योजनाकारसमेत हुन् ।
१३औँ दक्षिण एसियाली खेलकुद आयोजनाको समयमा राष्ट्रिय खेलकुद परिषद्को निर्माण शाखामा कार्यरत सन्जेलले नै पोखरा रंगशालालाई अहिलेको स्वरूपमा बनाएका हुन् । उनलाई पदमा रहँदा बेवास्ता गर्नु र अहिले सदस्य सचिव रिक्त हुँदा सरकारले कुनै कदम नचाल्नुले पनि राष्ट्रिय खेलकुद प्रतियोगिता सफल हुनेमा आशंका कायमै छ ।

स्रोतका अनुसार सुर्खेतमा १७ तथा कर्णाली प्रदेशका अन्य जिल्लामा ७ वटा प्रतियोगिता आयोजना हुनेछन् । कमजोर भौतिक संचरनाका कारण सुर्खेतबाहेक अन्य कुनै पनि जिल्लाको राष्ट्रिय स्तरको प्रतियोगिता गरेको अनुभव छैन । राष्ट्रिय खेलकुद परिषद्कै एक सदस्य भन्छन्, ‘सुर्खेतबाहेक अन्य जिल्लामा संरचना नै छैन । सुर्खेतमै पनि जेठ महिनाको मौसम खेलकुदका लागि उपयुक्त हुँदैन ।’ सुर्खेतपछि कर्णाली प्रदेशका सुगम मानिएका दैलेख, रुकुम पश्चिम, सल्यान र जाजरकोटमा समेत एउटा पनि स्तरीय खेलमैदान छैन ।

निकटलाई अनावश्यक जिम्मेवारी

यसअघि बारम्बार विवादमा परेका मन्त्री चौधरी खेलकुद आयोजनालाई लिएर फेरि विवादमा परेका छन् । मन्त्री चौधरीले सोमबार १०औँ राष्ट्रिय खेलकुदका लागि राखेपका बोर्ड सदस्यहरूको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका छन् ।

घोषित १०औँ राष्ट्रिय खेलकुदका लागि बनाइएको समारोह उपसमितिमा चौधरीको स्वामित्वमा रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई संयोजक बनाइएको छ । यसअघि पनि प्रधानलाई बढी जिम्मेवारी दिइएका कारण मन्त्री चौधरी आलोचित भएका थिए । चौधरीले नाइटिंगेल स्कुलले खेलकुदमा योगदान गरेको तथा त्यसमा रञ्जनाको भूमिका रहेको तर्क विभिन्न औपचारिक कार्यक्रममा नै राख्दै आएका छन् । परन्तु नेपाली खेलकुद क्षेत्रमा सो विद्यालयको कुनै भूमिका देखिएको छैन ।

अहिले घोषित ११ समितिमा पनि विगतमा लाभ लिएका व्यक्ति नै हाबी भएका छन् । प्रधान नेतृत्वको समितिकी सदस्य रहेकी तेक्वान्दोकर्मी नन्दा बस्याल विगतमा पनि सदस्य थिइन् । उनी परिषद्को सदस्य रहेका बेला राखेप र नेपाल तेक्वान्दो संघबीचको विवाद समाधानमा उनको कुनै भूमिका नरहेको जानकारहरू बताउँछन् ।


खेल सामग्री तथा पोसाक व्यवस्थापनको संयोजकमा कमल भट्टराई छन् । उनी सुरुचि ट्राभल्सका मालिक हुन् । राष्ट्रिय खेलकुद परिषद्ले विगतदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरुचि ट्राभल्ससँग कारोबार गर्ने गरेको थियो । अहिले खेल सामग्री तथा पोसाक व्यवस्थापनको संयोजक तिनै भट्टराई तोकिनुलाई अर्थपूर्ण मानिएको छ । यातायात व्यवसायीका रूपमा लामो समयदेखि परिषद्सँग कारोबार गर्ने भट्टराईलाई नै धेरै जिम्मेवारी दिइएको नेपाली खेलकुदमा चासो राख्नेले बताउने गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन मन्त्री चौधरीले व्यक्तिगत लाभका आधारमा राजनीतिक संगठन र खेलकुदको मर्यादा दुवैलाई बेवास्ता गरेको आरोप लगाए । ‘मन्त्रीज्यूले राजनीतिक परिपाटीसमेत बेवास्ता गर्दै व्यक्तिगत लाभका लागि मात्र राजनीतिक नियुक्ति दिएको प्रष्ट छ,’ शेरचनले भने ।

खेल सत्तामा मौलाउँदो गुटबन्दी

राष्ट्रिय खेलकुदको तयारी प्रमुख राजनीतिक दलको आन्तरिक विग्रहले समेत ग्रसित छ । मन्त्री चौधरी नेपाली कांग्रेसको प्रतिनिधित्व गर्छन् । राखेप उपाध्यक्ष ध्रुव आचार्य एमालेको प्रतिनिधित्व गर्छन् भने सदस्यसचिव टंकलाल घिसिङ माओवादी केन्द्रको प्रतिनिधित्व गर्छन् । यी ३ जना आबद्ध दलभित्रको विग्रहका कारण खेलकुदसमेत समस्यामा छ । सबैभन्दा ठुलो समस्या सदस्यसचिव घिसिङ आबद्ध रहेको माओवादी केन्द्रमा छ । पद जोगाउन मन्त्री चौधरीको गलत गतिविधिको साथ दिएको आरोप उनलाई आफ्नै दल निकटहरूले बारम्बार लगाएका छन् ।

यस विषयमा पार्टी नेतृत्वसम्म पनि कुरा पुगिसकेको छ । ‘मैले २ पटकको प्रधानमन्त्री कार्यकालमा खेलकुदमा गरेको राजनीतिक नियुक्ति ठिक हो भन्ने लाग्छ । तेस्रो पटक पनि ठिक गर्न खाजेको हुँ । ठिक भयो या भएन संगठनकै साथीहरूसँग बसेर टुंग्याउँला,’ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए । उनको यो भनाइ सदस्यसचिव घिसिङतर्फ नै लक्षित थियो ।

माओवादीको भ्रातृ संगठन अखिल नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष जनक बर्तौला, उपाध्यक्ष प्रकाश कुसारी र महासचिव अञ्जन धमलालाई राखेपबाट बर्खास्त गर्दै सदस्यसचिवलाई मात्रै पदमा राखिरहनुले नै मन्त्री चौधरी र घिसिङबीच कुनै स्वार्थवश सम्झौता भएको चर्चा दुवै दलमा चलेको थियो । यद्यपि, बर्तौला, कुसारी र धमलालाई बर्खास्त गर्ने निर्णय अदालतले नै अवैध ठहर गरिसकेको छ ।
यसैगरी, कांग्रेसमा त मन्त्री चौधरीले मनोमानी गरेको र उनले गरेको कामको जिम्मेवारी पार्टीले लिने कि नलिने भन्ने प्रश्न उब्जिएको पार्टीकै नेता बताउँछन् । उपाध्यक्ष ध्रुव आचार्य र उनको दल एमाले त अझै विभाजित छ ।

यता, एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघसँग झुकाव राख्नेहरू राखेप उपाध्यक्ष ध्रुव आचार्यलाई असफल गराउन उद्यत् रहेको स्रोत जनाउँछ । आचार्य मदन भण्डारी स्पोट्र्स एकडे्मीका अध्यक्ष हुन् । २ वर्षदेखि एमालेको खेलकुद निकायको विवाद छताछुल्ल छ ।

२ वर्षअघि विराटनगरमा नेपाल खेलकुद महासंघको महाधिवेशनमा मतदानको तयारी भइरहँदा अर्घाखाँचीका एक प्रतिनिधिको सवारी दुर्घटनामा मृत्यु भएको थियो । सोही बहानामा अधिवेशन नै स्थगित भएको थियो भने निर्वाचन गराउने जिम्मेवारी पाएका भानुभक्त ढकालले पर्शुराम बस्नेतलाई अध्यक्ष घोषणा गरेका थिए ।

बस्नेतसँग असहमत हुनेहरू सोही समयदेखि टाढिएका थिए । अहिले उनीहरू आचार्य निकट छन् भने एमाले निकट खेलकुद महासंघमा आबद्ध हुनेहरू आचार्यलाई असफल बनाउन लागिपरेका छन् । यसको असरसमेत राष्ट्रिय खेलकुदको तयारीमा देखिएको छ । खेलकुद महासंघको नेतृत्व ढकाल निकट मानिन्छ भने उपाध्यक्ष आचार्य अर्थमन्त्री विष्णु पौडेल निकट हुन् ।

प्रतिक्रिया