काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच–प्लेको पहिलो दिन नम्बर १ प्रो भुवन नगरकोटी र नम्बर २ खेलाडी नीरज तामाङले फराकिलो जितसहित क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम ८ मा स्थान बनाए । रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा नेपाल नम्बर १ गल्फर भुवन नगरकोटीले १६औँ वरीयताका पशुपति शर्मालाई ५÷४ ले हराए । ४ होल अगाडि जित निकालेका उनले अब क्वार्टरफाइनलमा धनलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् ।
आठौँ वरीयताका धन र नवौँ वरीयताका भुवनकुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७औँ होलको समाप्तिसम्म दुवै बराबरीमा थिए । १८औँ होल जितेर धनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल नम्बर २ प्रो नीरजले १५औँ वरियताका सूर्यप्रसाद शर्मालाई सहजै ५÷४ ले हराए । ४ होल अगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन् । नीरजले अब सातौँ वरीयताका रामेसँग क्वार्टरफाइनल खेल्नेछन् । रामेले १०औँ वरीयताका दीपक मगरलाई ४÷३ को नतिजामा माथ दिए । डिफेन्डिङ च्याम्पियन तेस्रो वरीयताका दिनेशले १४औँ वरीयताका रमेश अधिकारीलाई ४÷३ ले माथ दिए । उनले अब अनुभवी तोरणसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । ११औँ वरीयताका तोरणसँग छैटौँ वरीयताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे ।
यसैगरी चौथो वरीयताका रविले १३औँ वरीयताका टंकबहादुर कार्कीलाई ३÷२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औँ वरीयताका प्रदीपसँग खेल्नेछन् । प्रदीपले पाँचौँ वरीयताका सञ्जय लामाविरुद्ध २÷१ को अप्रत्याशित नतिजा निकाले ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि २ लाख ५० हजार छ । उपाधि विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने ४ खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । पहिलो चरणमा पराजित भएका ८ खेलाडीले नगद ६–६ हजार पाउनेछन् ।
बुधबार क्वार्टरफाइनल र सेमिफाइनल खेल १८–१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुने छ । फाइनल भने ३६ होलको हुनेछ ।
प्रतिक्रिया