सिरिए । इटालियन सिरिएको सोमबार भएको खेलमा नेपोली र बोलोग्नासँग १–१ को बराबरीमा रोकिएको छ । यो बराबरीपछि शीर्ष स्थानको इन्टरमिलानले ३ अंकको अग्रता यथावत राखेको छ ।
मिलान ६८ अंकसहित शीर्ष स्थानमा छ भने नेपोली ६५ अंकसहित दोस्रो स्थानमा छ । एटलान्टा ५८ अंकसहित तेस्रो तथा बोलाग्ना ५७ अंकसहित चौथो स्थानमा छ ।
नेपोलीका आन्द्रे–फ्राङ जाम्बो एङ्गइसाले १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपोली प्रभावशाली देखिए पनि दोस्रो हाफमा बोलोना खेलमा फर्कियो । ६४औँ मिनेटमा डान एनदोएले जेन्स ओडगार्डको लो क्रसलाई ब्याकहिल गोल गर्दै खेल बराबरीमा ल्याए ।
गोलकिपर सिमोने स्कुफ्फेटले अन्तिम मिनेटमा एमिल होल्मको हेडर रोकेर नेपोलीलाई हारबाट जोगाए ।
‘दोस्रो हाफ उत्कृष्ट थियो । हामीले नेपोलीलाई आधा मैदानमै सीमित ग¥यौँ । जित्ने अवसर थियो, तर १ अंक पनि राम्रो हो’, बोलोना प्रशिक्षक भिन्सेन्जो इटालियानोले भने । नेपोलीले जितेको भए इन्टरसँगको दुरी १ अंकमा झर्ने थियो । बराबरीसँगै अहिले इन्टरभन्दा ३ अंकले पछि छ । इन्टरले शनिबार पार्मासँग २–२ को बराबरी खेलेको थियो । त्यसैले नेपोलीलाई अंक दुरी घटाउने मौका मिलेको थियो ।
नेपोलीको बाँकी ७ खेल सबै कमजोर टोलीविरुद्ध छ र इन्टरले अझै बोलोना, रोम र लाजियोजस्ता बलिया टोलीसँग खेल्न बाँकी छ । नेपोलीको सहायक प्रशिक्षक क्रिस्टियन स्टेलिनी (निलम्बित कोन्टेको ठाउँमा) ले भने, ‘हामीले पहिलो हाफ निकै राम्रो खेलेका थियौँ । तर, दोस्रो हाफमा हामीले आक्रमण होइन, रक्षामा ध्यान दिँदै लय गुमायौँ । बोलोनाजस्तो फर्ममा रहेको टोलीविरुद्ध खेल सम्हाल्न गाह्रो हुन्छ ।’
बोलोना अहिले तालिकाको चौथो स्थानमा छ । टोली च्याम्पियन्स लिगको स्थानमा पुग्ने बलियो दावेदार देखिएका छ । साथै, इटालियन कपमा पनि इटालियानोको टोली सेमिफाइनलको पहिलो लेगमा एम्पोलीलाई ३–० ले हराएर फाइनलनजिक पुगेको छ ।
बोलोनाले यो वर्षको सुरु यता मात्र १ खेलमा हार बेहोरेको छ । अब बोलोनाको अर्को ठुलो खेल एटलान्टाविरुद्ध छ, जुन च्याम्पियन्स लिगको दौडका लागि निर्णायक हुनसक्छ ।
न्यु क्यासलको जित
न्यु क्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ । लेस्टरले प्रिमियर लिगमा लगातार आठौँ खेल गोल नगरी हार बेहोरेको छ । योसँगै लेस्टर रेलिगेसननजिक पुगेको छ ।
सो खेलमा जेकब मर्फीले २ गोल गर्दै न्युक्यासललाई सानदार सुरुआत दिलाएका थिए । खेलको दोस्रो मिनेटमै मर्फीले पहिलो गोल गरे । त्यसको केही मिनेटपछि फाबियन स्चारको हाफलाइनबाट गरिएको प्रहार बारमा लागेर फर्किएको बलमा मर्फीले दोस्रो गोलमा परिणत गरे ।
३४औँ मिनेटमा हर्वी बान्र्सले तेस्रो गोल गर्दै न्युक्यासलको जित पक्का गरे । बान्र्सले आफ्नो पूर्वक्लबविरुद्ध गोल गरे पनि उनले उत्सब मनाएनन् । ८ डिसेम्बरपछि लेस्टरले घरेलु मैदानमा गोल गर्न सकेको छैन । लेस्टर प्रिमियर लिगको इतिहासमा लगातार ८ वटा घरेलु खेल गोल नगरी हार बेहोर्ने पहिलो टोली बनेको छ ।
खेलको अन्त्यतिर लेस्टरले १५ वर्षीय जेरेमी मोन्गालाई मैदानमा उतारेको थियो । उनी प्रिमियर लिग खेल्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बनेका छन् । ‘लिग कप जितेपछि ध्यान केन्द्रित राख्नु चुनौतीपूर्ण थियो । तर, खेलाडीहरूले अनुशासन देखाए । हामीसँग अब ३ कठिन खेलहरू छन् (म्यान्चेस्टर युनाइटेड, क्रिस्टल प्यालेस, एस्टन भिला) । यो खेलले हाम्रो सिजन कहाँ पुग्छ भन्ने निर्धारण गर्नेछ’, न्युक्यासलका प्रशिक्षक एडी हाउले भने ।
न्युक्यासल अहिले पाँचौँ स्थानमा उक्लिएको छ । चौथो स्थानको चेल्सीसँग न्युक्यासलको समान अंक छ । यस सिजन इंग्ल्यान्डका क्लबहरूको राम्रो प्रदर्शनका कारण पाँचौँ स्थानमै च्याम्पियन्स लिग स्थान सुनिश्चित हुने सम्भावना बलियो छ । अबको दौड निकै प्रतिस्पर्धात्मक छ । तेस्रो स्थानको नटिङ्घम फरेस्टदेखि सातौँ स्थानको एस्टन भिलासम्म केवल ६ अंकको फरक छ ।
प्रतिक्रिया