रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल तथा नेपालकै सबैभन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षार्थका लागि पर्यटक प्रहरी स्थापना गरिएको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूको सुरक्षाका लागि नेपाल सरकारले ताल्चा विमानस्थल नजिक रारा जाने मूल बाटोमा अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमबीच छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले उक्त पोस्टको उद्घाटन गरे । प्रमुखअतिथिसमेत रहेका नगरप्रमुख भामले उद्घाटनको क्रममा रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकहरूको संख्या दिनप्रतिदिन बढिरहेकाले पर्यटकहरूको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राखेको बताए । उनले भने, ‘उक्त प्रहरी पोस्ट राख्नका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरेबमोजिम कर्णाली प्रदेशभरीमै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोस्ट स्थापना भएको हो ।’

रारा विमानस्थल नजिक अहिले अस्थायी पोस्ट स्थापना भए पनि निकट भविष्यमै रारा नजिक सल्लेरीमा स्थायी पोस्ट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । उनले भनिन्, ‘सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुनासाथ भौतिक संरचना बनाई स्थायी रूपमै सल्लेरीमा पर्यटक प्रहरी पोस्ट स्थापना गरिनेछ ।’

पर्यटक प्रहरिले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरिले गर्नु पर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोस्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकीय क्षेत्रहरूमा घुम्न आउने पर्यटकहरूको पनि घुमाइ अब सुरक्षित हुने आफूले विश्वास लिएको प्रहरी नायब उपरीक्षक सरोज गिरीले बताए ।

‘हाम्रो काम यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूमाथि दुव्र्यवहार हुन नदिने, सुरक्षित महसुस गराई, घुमाई लम्ब्याउने, अपराधिक क्रियाकलापमा संलग्न हुने जो कोहीलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्नेजस्ता हुनेछन्’, उक्त पोस्टका सहायक प्रहरी निरीक्षक सन्जुकुमार विश्वकर्माले बताए ।


छायानाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ । मुगुमा रहेको रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरू, हिमाल, गुफा रहेका छन् ।

जंगलहरूकाबीचमा रहेका यी स्थानहरूमा यहाँ आएका पर्टकहरू एक्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरी राखिए सुरक्षाको महसुस गरी पर्यटकहरू स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलहरूको पनि भ्रमण गर्ने तथा पर्यटकहरूको रारा बसाइँ पनि लम्बिने स्थानीयको भनाइ छ ।

हाल देशभरी २९ वटा पर्यटक प्रहरी युनिटहरू रहे पनि कर्णाली प्रदेशभरी कतै पनि पर्यटक प्रहरी थिएन अब मुगुमा पर्यटक प्रहरीको ३०औँ युनिट स्थापना भएसँगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ ।

प्रतिक्रिया