काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली बिमा क्षेत्रमा पहिलोपटक सूर्यज्योति डिजिटल कार्ड र सूर्यज्योति ई–कर्जा सेवाको सुरुआत गरेको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा र सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा सूर्यज्योति डिजिटल क्यरस् डिजिटल कार्ड र सूर्यज्योति ई–कर्जा सेवाको शुभारम्भ गरे ।
कम्पनीले डिजिटल कार्डबापत सेवाग्राहीसँग कुनै पनि शुल्क नलिने जनाएको छ । साथै उक्त कार्डमार्फत बिमित तथा अभिकर्ताले विभिन्न होटल, रेस्टुराँ, मल, फिटनेस, हवाई र सिनेमा टिकट खरिद गर्दा, सपिङ मल, फिट्नेस सेन्टर तथा अस्पताललगायत स्थानमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । हाल देशभरका ४२ वटा विभिन्न क्षेत्रका कम्पनीसँग डिजिटल कार्डका लागि सूर्यज्योति लाइफ इन्स्योरेन्सले सहकार्य गरेको जनाएको छ ।
नेपालकै पहिलो सूर्यज्योति ई–कर्जा आपत पर्दा अनलाइनबाटै सजिलै र तुरुन्तै निकाल्न सकिने कम्पनी जनाएको छ । सूर्यज्योति ई–कर्जा लिन ३ वर्ष पूरा भएर ३ वर्षको बिमा शुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्याल्लुको ९० प्रतिशत वा अधिकतम ५० हजार रुपैँयासम्मको कर्जा लिन सकिने छ । त्यसका लागि केवाइसी अपडेट हुनुपर्ने र कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुनेजस्ता सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिमा प्रधिकरणका अध्यक्ष शरद ओझाले नेपाली इन्स्योरेन्स क्षेत्रमै सूर्यज्योतिले पहिलोपल्ट नवीन र अन्तर्राष्ट्रिय अभ्यासको सुरुआत गरेको बताए । त्यस्तै सूर्यज्योतिका अध्यक्ष केशवप्रसाद भट्टराईले डिजिटलाइजेसनको बाटोमा द्रुत फड्को मार्ने योजनाका साथ कम्पनी अघि बढिरहेको बताए । कम्पनीले सुरु गरेको डिजिटल कार्ड र सूर्यज्योति ई–कर्जा सेवा त्यसकै उदाहरण रहेको उनले बताए ।
प्रतिक्रिया