काठमाडौँ । बंगलादेश महिला राष्ट्रिय टोलीको विवाद अझै समाधान हुन सकेको छैन । पछिल्ला २ संस्करणको दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलमा नेपाललाई हराएर उपाधि जितेको बंगलादेशको महिला फुटबल टोलीमा आएको यो विवाद दक्षिण एसियाली फुटबलका लागिसमेत चर्चाको विषय बनेको छ ।
प्रशिक्षक पिटर बटलरसँगको विवाद समाधान हुन नसकेपछि ६ सिनियर खेलाडी भुटान पुगेका छन् । प्रशिक्षक बटलर सोमबार इंग्ल्यान्डबाट फर्कन लागिरहेका बेला कप्तान सविना खातुनसहित रितु पोर्ना चक्मा, मोनिका चक्मा, मात्सुशिमा सुमाया, मसुरा परविन र रुपना चक्मा राष्ट्रिय महिला लिग खेल्न भुटान पुगेका हुन् ।
सविना, रितु, मोनिका र सुमाया पारो एफसीबाट खेल्नेछन् भने मसुरा र रुपना ट्रान्सपोर्ट युनाइटेडबाट मैदानमा उत्रिनेछन् । बंगलादेश फुटबल महासंघ (बिएफएफ)का अध्यक्ष ताबिथ अवाल, महिला विभाग प्रमुख महफुजा अख्तर किरोन र अन्य कार्यकारिणी सदस्यहरूले शनिबार यी ६ खेलाडीसँग भेट गरेका थिए ।
बिएफएफ मिडिया कमिटीका अध्यक्ष आमिरुल इस्लाम बाबुले सञ्चारमाध्यमलाई जानकारी दिँदै २९ जुनदेखि ५ जुलाईसम्म हुने एसियन कप छनोटअघि यी खेलाडीलाई बोलाइने संकेत गरेका छन् ।
गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपदेखि नै वेस्टह्यामका पूर्वमिडफिल्डर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको हो ।
पाकिस्तानसँग १–१ को निराशाजनक बराबरी खेल्दै साफ च्याम्पियनसिप सुरु गरेको थियो । त्यसपछि मैदानबाहिर विवाद सिर्जना हुन थालेको हो । मारिया मान्डा, मसुरा र सञ्जिदा अख्तरजस्ता सिनियर खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतार्ने प्रशिक्षकको निर्णयले सबैलाई चकित पारेको थियो ।
५ पटकको च्याम्पियन भारतलाई ३–१ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा बंगलादेश सेमिफाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएको बंगलादेशले फाइनलमा घरेलु टोली नेपालमाथि २–१ को जित निकाल्दै लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिप जितेको थियोे ।
२९ जनवरीदेखि सुरू भएको बन्द प्रशिक्षणसँगै पुनः विवाद बल्झिएको हो । प्रशिक्षक बटलरमाथि खेलाडीप्रति अपमानजनक व्यवहार गरेको र टोलीमा विभाजन ल्याएको आरोप छ । यसैकारण १८ सिनियर खेलाडीले प्रशिक्षण बहिष्कार गरेका थिए ।
त्यसपछि सविनाको नेतृत्वमा रहेका सिनियर खेलाडीहरूलाई युएईविरुद्धको २ मैत्रीपूर्ण खेलको टोलीबाट बाहिर राखिएको थियो । त्यसपछि बिएफएफले नयाँ ३६ जना (प्रायः जुनियर) खेलाडीहरूलाई क्याम्पमा बोलाएर कन्ट्रयाक्टमा राखेको थियो । ईद अगाडि बिएफएफले ५० भन्दा बढी खेलाडीलाई क्याम्पमा बोलाइने र सिनियर १८ खेलाडीसँग पनि कन्ट्रयाक्ट गर्ने तयारी भइरहेको बताएको थियो । प्रशिक्षक बटलर फर्किन लागेका बेला यी ६ मुख्य खेलाडीको भुटान प्रस्थानले विवादको समाधान अझै नभएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया