किन सम्झने राजा र राणालाई ?

राणाकालमा कानुन बनाएर शासन गर्न थालियो । थोरै भए पनि विकासका काम भए, विद्यालय, कलेज तथा उद्योग खुले । त्रिभुवन विमानस्थल को निर्माण, रक्सौल–भीमफेदी सडक निर्माण, रामनगर घाट रेल्वे (रक्सौल–अमलेखगन्ज) राणाकालमै सञ्चालनमा आएको हो ।

गोकुल निरौला

नेपालमा राजतन्त्रको सुरुआत गोपाल वंशदेखि भएको मानिन्छ । जसका राजा प्रथम ज्ञात शासक भुक्तमान थिए । अनुमानित रूपमा यो वंश करिब इसापूर्व १५५२ तिर सुरु भएको थियो । त्यसपछि महिषपाल वंश, किरात वंश, लिच्छवि वंश, मल्ल वंश हुँदै शाह वंशसम्म नेपालमा राजतन्त्र कायम रह्यो ।

शाह वंशका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपाल निर्माण भयो । २४० वर्षपछि ज्ञानेन्द्र शाहको शासनकालमा नेपाली जनताले राजतन्त्र उन्मूलन गरे । कोतपर्वपछि जंगबहादुर कुँवर (पछि जंगबहादुर राणा) सत्तामा उदाए र उनले नेपालमा राणा वंशीय प्रधानमन्त्री प्रणाली स्थापन गरे, जुन झण्डै १०४ वर्षसम्म कायम रह्यो । कुनै पनि प्रधानमन्त्री आफ्नो कालगतिले मर्न नपाउने अवस्था राजपरिवारले सिर्जना गराएका कारण राणा शासनको उदय गराउन जंगबहादुर वाध्य भए ।

राणाकालमा कानुन बनाएर शासन गर्न थालियो । थोरै भए पनि विकासका काम भए, विद्यालय, कलेज तथा उद्योग खुले । त्रिभुवन विमानस्थलको निर्माण, रक्सैल–भीमफेदी सडक निर्माण, रामनगरघाट रेल्वे (रक्सौल–अमलेखगन्ज) राणाकालमै सञ्चालनमा आएको हो । जंगबहादुर राणाले दरबार हाइस्कुल स्थापना गरे । सन् १९१८ मा चन्द्रशमशेरले त्रि–चन्द्र कलेज खोले, जसले उच्च शिक्षा प्रदान गर्न थाल्यो । सिंहदरबार वैद्यखाना (१८९०) स्थापना भयो । सन् १९२३ मा वीर अस्पताल स्थापना गरियो, जुन नेपालकै पहिलो आधुनिक अस्पतालको रूपमा हाल चलिरहेको छ ।

तर युगको गतिअनुसार राणाशासन चल्न सकेन । २००७ सालको जनक्रान्तिले राणाशासन ढल्यो । तर शासन शैली फेरिएन । राणाले प्रयोग गरेको अधिकार राजामा फिर्ता भयो । फेरि अर्को ८ वर्षसम्म जनताले संघर्ष गर्नुप¥यो । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस बहुमतसहित विजयी भयो । तर जननिर्वाचित सरकार र संसद्लाई १८ महिनाभित्रै विघटन गरेर २०१७ पुस १ गते राजा महेन्द्रले शासन सत्ता हातमा लिए । नेपालमा गणतन्त्रको वीजारोपण यही घटनाले गरेको हो ।

पञ्चायती व्यवस्थाको नाममा राजाको निरंकुश शासन ३० वर्ष चल्यो । राणाहरूको १०४ वर्षे निरंकुश शासनको तुलनामा राजाहरूको ३० वर्षे निरंकुश शासनमा केही हदसम्म सुधारका काम भए । राणशासनमा सुरु भएका विकासका पूर्वाधारलाई निरन्तरता दिन राजाहरू चुकेनन् । २०४६ सालको जनआन्दोलनका बलमा २०४७ सालमा प्रजातान्त्रिक संविधान जारी गरियो । तर नेपालका कम्युनिस्टहरू सन्तुष्ट भएनन् । प्रजातन्त्र पुनवर्हाली भएको ५ वर्ष पुग्दा नपुग्दै कम्युनिस्ट राज्यसत्ता स्थापनाका लागि माओवादीले सशस्त्र विद्रोह सुरु ग¥यो । त्यही विद्रोहका कारण देशमा गणतन्त्र स्थापना भयो ।

हुन त गणतन्त्रको मार्ग २०६२–२०६३ सालको जनआन्दोलनले प्रशस्त गरेको थियो । त्यसमाथि पनि २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले नेपाललाई पूर्ण गणतान्त्रिक राष्ट्र घोषित ग¥यो र राजतन्त्रको औपचारिक अन्त्य भयो । राजतन्त्र अन्त्य भएपछि नेपालमा ३ जना राष्ट्रपति बनिसकेका छन् ।

किन सम्झने राजा र राणालाई ?

राजसंस्था नेपाली पहिचान र राष्ट्रिय एकताको केन्द्रका रूपमा रहेको थियो । विभिन्न जाति, भाषा र धर्मलाई समेटेर राष्ट्रको पहिचान जोगाउने प्रयास गरेको पाइन्छ । नेपाललाई बाह्य हस्तक्षेपबाट जोगाउन विभिन्न रणनीतिक कदम चालिएको थियो । तर, कालापानीमा भारतीय सैनिक राजाकै पालामा क्याम्प खडागरेर बसेको थियो । महेन्द्र शाह राजा हुनासाथ २०१२ सालमा नेपालका केही स्थानमा भारतीय सैनिक क्याम्पहरू राखिएका थिए । तर, पछि २०३० को दशकतिर राजा वीरेन्द्रको पहलमा ती क्याम्पहरू हटाइएका हुन् ।

नेपालमा शिक्षालयदेखि औषधालयसम्म राणाकै पालामा सुरु भएका हुन् । नेपालकै पहिलो कन्या विद्यालय राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा स्थापना भयो । यति मात्र नभएर राणाकै पालामा विभिन्न स्थानमा उद्योगधन्दा खोलिएका थिए । २००७ सालपछि राजाहरूले थप बिस्तार गरे । तर २०४६ सालमा प्रजातन्त्र स्थापनापछि ती उद्योगहरूले निरन्तरता पाउन सकेनन् । राजनीतिक अस्थिरता, कच्चा पदार्थको अभाव, प्रविधिको अपग्रेड गर्न नसक्नु, व्यवस्थापन कमजोरी, भ्रष्टाचार, निजीकरणको प्रभाव आदि कारणले बन्द भएका हुन् ।

बुटवल धागो कारखाना कपडा उत्पादनमा महत्वपूर्ण उद्योग थियो, जुन लामो समयसम्म सञ्चालन भए पनि आर्थिक संकटका कारण बन्द भयो । वीरगन्ज कृषि औजार उद्योग, विराटनगर जुट मिल्स, भैरहवा काँस कारखाना, बालाजु आयल उद्योग, जनकपुर चुरोट कारखाना, भोजपुरको अलैँची उद्योग, रोपवे बन्द भए । नेपालमा सरकारी उद्योगहरूलाई निजीकरण गर्ने प्रक्रिया २०४० सालदेखि नै सुरु भए पनि २०४९ सालदेखि कार्यान्वयनमा आएको हो । ‘आर्थिक उदारीकरण’ नीतिअन्तर्गत राज्यका स्वामित्वमा रहेका उद्योगहरूलाई निजी क्षेत्रलाई हस्तान्तरण गर्ने नीति लिइयो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सिफारिसमा नेपाल सरकारले निजीकरण नीति ल्यायो । नेपालमा सरकारी उद्योगधन्दाहरूको निजीकरण मुख्य रूपमा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा सुरू भएको थियो । कोइराला सरकारका पालामा विभिन्न उद्योगहरू निजी क्षेत्रलाई हस्तान्तरण गरिए । त्यसपछिका सबै प्रधानमन्त्रीहरूले यसलाई निरन्तरता दिइरहेका छन् । सरकारी उद्योगधन्दा निजीकरण गर्दा धेरै आलोचना पनि भयो । कतिपय उद्योगहरू उचित मूल्य नलिई बेचिएको, पारदर्शिता नअपनाइएको र निजीकरणपछि उद्योगहरू नै धरासायी भएको आरोपहरू लागे । निजीकरण पछि बन्द भएका उद्योगमा कामगर्ने मजदुरहरूको बिचल्ली भयो धेरै नेपालीहरू बेरोजगार बने । राणाकाल तथा राजाकालमा स्थापना भएका धेरै उद्योगधन्दाहरू बन्द गरिएका छन् ।

राजसंस्थाका सदस्यहरूले राष्ट्रिय सम्पत्तिलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको आरोप पटक–पटक लाग्दै आएको छ । नेपालको राजसंस्था समयअनुसार कहिलेकाहीँ जनविरोधी देखिए पनि यसको केही सकारात्मक पक्षहरूलाई पनि नकार्न सकिँदैन । राजसंस्थाको बेला र गणतन्त्रको अवधिमा नेपालमा भएका विकासका मुख्य पक्षहरूलाई तुलना गर्दा दुवै व्यवस्थाले आफ्नै विशेषतासहित योगदान गरेका छन् । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेपछि स्थिर राष्ट्रको जग बस्यो । नेपाललाई विदेशी हस्तक्षेपबाट जोगाउने नीति अपनाइयो । पुरातात्विक सम्पदा जोगाइयो (पशुपतिनाथ, बौद्धनाथ, दरबार स्क्वायर आदि)।
हिन्दु परम्परालाई राजसंस्थाको संरक्षण रह्यो । गणतन्त्रपछि खुला प्रणालीका कारण जनताका हक अधिकारमा सुधार आयो । तर, भ्रष्टाचार, अस्थिरता, र प्रभावकारी नीति कार्यान्वयनको अभावले अपेक्षाअनुसार विकास नभएको गुनासो पनि छ । तुलनात्मक रूपमा हेर्दै जाने हो भने पछिल्लो बिकासक्रमभन्दा अघिल्लो विकास क्रम नै जनताको हितमा गरेको देखिन्छ ।

प्रतिक्रिया