काठमाडौं । पूर्पक्षका लागि रुपन्देही जिल्ला कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारागारको ४ नम्बर बल्कमा एक्लै राखिएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशले सभापति लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।
उच्च अदालतको आदेश बमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्ट्याउँदै थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगतै लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौंबाट पक्राउ गरि रुपन्देही लगेको थियो ।
लामिछानेलाई स्वास्थ्य परीक्षण गरि कारागारको ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछाने मात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने उनले बताए ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई लाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको क्ष्जलासले उक्त आदेश दिएको हो ।
प्रतिक्रिया