रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल तथा नेपालकै सबैभन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकको सुरक्षार्थका लागि पर्यटक प्रहरी स्थापाना गरिएको छ । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि नेपाल सरकारले ताल्चा विमानस्थल नजिक रारा जाने मुल बाटोमा अस्थाई पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।

सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरेबमोजिम कर्णाली प्रदेशभरमै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताए ।

रारा विमानस्थल नजिक अहिले अस्थायी पोष्ट स्थापना भए पनि निकट भविष्यमै रारा नजिक सल्लेरिमा स्थायी पोष्ट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् । उनले भनिन्, ‘सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको छ, नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ती स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायीरुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।’

पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नुपर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने आफूले विश्वास लिएको प्रहरी नायब उपरिक्षक सरोज गिरिले बताए ।

हाल देशभरी २९ वटा पर्यटक प्रहरी युनिटहरु रहे पनि कर्णाली प्रदेशभरी कतै पनि पर्यटक प्रहरी थिएन । अब मुगुमा पर्यटक प्रहरीको ३०औँ युनिट स्थापना भएसँगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ ।

आफ्नो काम यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुमाथि दुर्ववहार हुन नदिने, सुरक्षित महसुस गराइ घुमाइ लम्ब्याउने, अपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहिलाई नियन्त्रणमा लिने र पर्यटकहरुलाई गाइड गर्ने जस्ता हुने र पर्यटक प्रहरीबारे जानकारी दिँदै अस्थायी पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरिक्षक सन्जु कुमार विश्वकर्माले बताए ।

छायाँनाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, बिजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ ।

मुगुमा रहेको रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन् । जंगलहरुका बीचमा रहेका यी स्थानहरुमा यहाँ आएका पर्टकहरु एक्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरी राखिए सुरक्षाको महसुस गरेर पर्यटकहरु स्वतन्त्र रुपमा यी पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्ने तथा पर्यटकहरुको रारा बसाइ पनि लम्बिने स्थानीयको भनाई छ ।

प्रतिक्रिया