काठमाडौं । नेपाली कांग्रेस झापाले युवराज गिरी आफ्नो उम्मेदवार नभएको स्पष्ट पारेको छ । चैत २८ गते हुने जिल्ला सहकारी संघ झापाको निर्वाचनमा आफू कांग्रेसको उम्मेदवार भएको हल्ला चलाएर गिरीले सचिवमा उम्मेदवारी दिएपछि झापा कांग्रेसले गिरी आफ्नो कार्यकर्ता नभएको स्पष्ट पारेको हो ।
‘युवराज गिरी कांग्रेसको साधारण सदस्यसमेत छैनन्, नाम भजाएर पार्टीको बदनाम गर्न खोजियो’, नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले भने, ‘कसले कहाँ, केमा उम्मेदवार दिन्छ त्यो झापा कांग्रेसलाई थाहा हुने कुरा भएन, युवाराज गिरी कांग्रेसको साधारण सदस्यसमेत होइन ।’
व्यक्ति हत्यामा जेल जीवन बिताएर निस्केका व्यक्ति कांग्रेसको सदस्य हो भनेर हल्ला चलाउनेले नै जानोस्, युवराज गिरी कांग्रेसको कुनै पनि सदस्य छैन, उसको आबद्धता पार्टीमा कहिँ पनि छैन’, उनले भने । संघको निर्वाचनमा गिरीले उम्मेदवारी दिएको र पार्टी बदनाम हुने गरी प्रचार गरिएपछि जिल्ला सचिव विमलीको त्यस्तो धारणा सार्वजनिक भएको हो ।
सो पदमा भवानीप्रसाद दंगाल (भानु), लक्ष्मीप्रसाद बाँस्कोटा र गिरीले उम्मेदवारी दिएका छन् । आइतबार उम्मेदवारविरुद्ध दाबीविरोध र सोमबार उम्मेदवारी फिर्ताको समय तोकिएको छ । भानु माओवादी निकट र बाँस्तोला एमाले निकट छन् । गिरीले कांग्रेसको नाम भजाएर अनाधिकृत फाइदा लिन खोजेपछि कांग्रेस झापा सचिव विमलीले पार्टीको सदस्य र भ्रातृ संघसंगठनमा समेत आबद्ध नरहेको बताएका हुन् ।
गिरी पत्रकार यादव पौडेलको हत्या अभियोगमा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । २०६८ चैत २१ गते राति पत्रकार पौडेलको हत्या भएको थियोे । बिर्तामोड नयाँ बसपार्कको पूर्वाञ्चल सेकुवा कर्नर अगाडि पत्रकार पौडेलले शव भेटिएको र सोही अभियोगमा अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान गरेर गिरी केही वर्ष अघि छुटेका व्यक्ति हुन् ।
फौजदारी मुद्दामा न्यायलयले तोकेको सजाय भुक्तान गरिसकेपछि संघसंस्थामा उम्मेदवार बन्ने कानुनी अड्चन नहुने बताइन्छ । नैतिक रूपमा उम्मेदवार बन्ने नबन्ने वैयक्तिक निर्णय र अधिकार हो ।
प्रतिक्रिया