श्रम शोषण भयो भन्दै चिकित्सकहरु पनि उत्रिए सडक आन्दोलनमा

काठमाडौं । श्रम शोषण भयो भन्दै आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले तोके अनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका हुन् ।

श्रम शोषण विरुद्ध प्रदर्शन भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् ।

मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनुपर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरुले बताएका छन् । त्यसैगरी नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ ।

आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।

प्रतिक्रिया