चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि २ महिने जनयात्रा कार्यक्रम सुरु गरेको छ । चितवनको भरतपुर गेस्टहाउस चौरबाट यात्राको सुरुआत गरेको हो । सो जनसभामा बोल्ने वक्ताहरूले सरकारको चर्को आलोचना गरेका थिए ।
सो पार्टीले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गरेको जनाएको छ । पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेसहित नेताहरूले सामुहिक रूपमा घण्टी बजाएर जनयात्राको सुरुआत गरेका थिए ।
सो जनयात्राको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएकोे थियो । सोहीअनुसार उनकै तस्बिर भएका ठुलाठुला पोस्टर र ब्यानरहरू तयार पारिएका थिए । कार्यक्रम स्थलमा पनि रविकै तस्बिर भएका ब्यानर टाँगिएका थिए । तर शुक्रबार लामिछाने पक्राउ परेका कारण यहाँ उपस्थित हुन पाएनन् । उनले सो सभामा आफ्ना धेरै कुरा बताउने जानकारी गराउँदै आएका थिए ।
बुटवलको सुप्रिम सहकारीको बचत ठगीको आरोप खेपिरहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेसँगै उनी काठमाडौँस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।
रवि लामिछानेलाई पक्राउ गर्न गएकामध्ये एक सादा पोसाकका प्रहरीले उनको ‘अन्तिम इच्छा’ के हो ? भनरे सोधेका थिए । प्रहरीको सोधाइपछि केहीबेर भनाभन भएको सार्वजनिक भिडिओमा सुन्न र देख्न सकिन्छ ।
उक्त दृश्य र संवादलाई लिएर टीकाटिप्पणी भइरहेका बेला शनिबारकोे जनयात्रा सभालाई सम्बोधन गर्दै रास्वपाका सांसद हरि ढकालले आफ्नो सभापति लामिछानेको ‘अन्तिम इच्छा’ भन्दै अभिव्यक्ति दिएका थिए ।
सम्बोधनका क्रममा सांसद ढकालले भनेका थिए, ‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ, यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै १० दान बैतर्नी गर्ने मन छ ।’
उनले १ जना व्यक्तिलाई राज्यले पटकपटक लखेटिरहेको भन्दै यसलाई चितवनले फेरि जवाफ दिनुपर्ने बेला आएको बताएका थिए । सरकारमा भएकाहरूले न्यायालयको प्रक्रिया नबुझेको पनि उनले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया