काठमाडौँ । संवादहीनताको अन्त्य गर्दै गत शुक्रबार थाइल्यान्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच करिब ४५ मिनेट ‘वान् टू वान्’ वार्ता भयो । यो विषयलाई नेपालसँगै भारतमा पनि निकै महत्वका साथ हेरियो ।
विशेष गरी नेपालमा कम्युनिस्ट गठबन्धनको सरकार ढलेर प्रजातान्त्रिक–कम्युनिस्ट गठबन्धन सरकार बनेपछि भारतीय राजनीतिक वृत्तमा यसलाई अस्वाभाविक रूपमा विश्लेषण गर्न थालियो । त्यहाँका केही नेताले त खुलेरै असन्तुष्टि जनाए । कांग्रेससहितको सरकार भएकाले भारतीय पक्षलाई समझदारी गर्दै अघि बढ्न सहज हुने आकलन गरिए पनि त्यसो हुन सकेन ।
विशेष गरी ओली प्रधानमन्त्री बनेको ९ महिना हुँदा पनि भारत तर्फबाट भ्रमणको निम्तो आएको छैन । र, नेपालले पनि मोदीको भ्रमण गराउन सकेको छैन । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा छोटो अनौपचारिक भेटघाट भए पनि त्यसलाई दुवै पक्षले अर्थपूर्ण मान्न सकेनन् । तर, शुक्रबार बैंककमा भएको भेटवार्तालाई २ देशबीचको सम्बन्ध सुधारमा एउटा कडीका रूपमा हेरिएको थियो ।
तर, बोली फुटाउनेबाहेक मूल मुद्दाका सन्दर्भमा भने भेटवार्ता उपलब्धिहीन देखियो । ५ दिने थाइल्यान्ड भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले मोदीसँको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीका अनुसार समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने विषयमा दुवै पक्षबाट अठोट व्यक्त भएको छ । तर, सम्बन्ध सुधारको सवालमा भएका पहलबारे भने केही भनेनन् । उनले यसअघि सेप्टेम्बरमा अमेरिकामा भएको भेटवार्ताभन्दा यस पटक अझै बढी कुराकानी भएको बताए ।
‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा आपसमा संवाद गरिहाल्ने र तिनलाई टुंग्यााउने भन्नेमा यस पटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ,’ ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’
उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुरामा छलफल भएको बताए । जुन विषयमा तत्काल निकास चाहिएको छ, ती समस्याबारे तत्काल छलफल गरी टुंग्याउनेबारे समझदारी भएको प्रधानमन्त्री ओलीले बताए ।
फुकेन द्विपक्षीय भ्रमणको गाँठो
नेपाल–भारत सम्बन्धका बारेमा चर्चा हुँदै गर्दा ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमण नै सबैभन्दा धेरै बहसको विषय बन्ने गर्छ । तर, ओली प्रधानमन्त्री भएको ९ महिनासम्म यो विषय टुंगिएको छैन । स्वयं प्रधानमन्त्रीकै भनाइअनुसार तत्काल दुवै पक्षबाट कुनै भ्रमण हुने सम्भावना छैन । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले विविध कारणले नभ्याएर भारत भ्रमण नभएको जिकिर गरे ।
ओलीले यसलाई असम्भव भने नभएको बताए । उनले त नभ्याएकै कारण द्विपक्षीय भ्रमण हुन नसकेको र बाहिर भनेजस्तो भारत भ्रमणकै विषयमा धेरै सोच्नुनपर्ने बताए । ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ, त्यस्तो कारणले मात्रै हो । बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन,’ ओलीले भने ।
समय मिल्यो भने आफू भारत भ्रमणमा जाने ओलीको जबाफ थियो । आफूले समय दिन सके भारतबाट निम्तो पनि आउने र भारतको भ्रमण पनि गर्ने ओलीले संकेत गरे । उनले भने, ‘सगरमाथा संवादलगायत विषयले अलि व्यस्त नै छौँ । हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ ।’
तर, भारतबाट न ओलीलाई औपचारिक भ्रमणको निम्तो आएको छ, न त नेपालबाट मोदीको नेपाल भ्रमणबारे औपचारिक निम्तो नै पुग्न सकेको छ । मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत पुगेका थिए । त्यसबेला प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जबाफमा मोदीले पनि समय मिलाएर नेपाल भ्रमण गर्ने भनेका थिए । तर, सरकार परिवर्तनपछि मोदीको भ्रमण पनि अन्योल भएको थियो ।
सगरमाथा संवादमा मोदी नआउने
आगामी जेठ २ देखि सरकारले ३ दिने सगरमाथा संवाद आयोजना गर्दै छ । त्यसमा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, उच्च ओहदाका व्यक्तित्वलगायत करिब ४०० जनाको उपस्थिति हुँदै छ । जलवायु परिवर्तन र वातावरणीय विषय भएकाले यसमा भारतीय प्रधानमन्त्री मोदी स्वयंले चासो लिँदै नेपाल आउन सक्ने सरकारको आकलन थियो । यसले नेपाल–भारत सम्बन्ध सुधारमा पनि प्रभाव पर्न सक्ने अनुमान थियो ।
तर, नेपालले पहिलो पटक गर्न लागेको सगरमाथा संवादमा मोदी नआउने भएका छन् । शुक्रबार थाइल्यान्डमा भएको भेटमा प्रधानमन्त्री ओली स्वयंले मोदीलाई सगरमाथामा संवादको निम्तो दिएका थिए । तर, मोदीले आउन नभ्याउने जबाफ दिएको प्रधानमन्त्री ओलीले बताए ।
त्यस समयमा आफ्नो युरोप भ्रमण तय भइसकेकाले मोदीले आउन नभ्याउने जबाफ दिएको ओलीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भने, ‘यसपल्ट सगरमाथा संवादमा मोदी आउन भ्याउनुहुन्न । उहाँको युरोप जाने कार्यक्रम रहेछ । उहाँले त्यसलाई बदल्न सक्ने अवस्था नभएको, तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ भन्नुभयो ।’
प्रतिक्रिया