आन्दोलनको उपलब्धि गुम्न दिँदैनौँ : अध्यक्ष नेपाल

बाँके । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ले ०६२–०६३ को आन्दोलनका उपलब्धिलाइ गुम्न नदिने वताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य स्वर्गीय अशोक कोइरालाको १३औँ दिनको पुण्य तिथिमा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश, बाँके जिल्ला कमिटी र कोहलपुर नगर कमिटीले शनिबार आयोजना गरेको श्रद्धाञ्जली सभामा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका कोइराला बाँके जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य भएर बाँके, बर्दिया र लुम्बिनी प्रदेशभरि नै पार्टी निर्माण ठूलो योगदान गरेको अध्यक्ष नेपालले बताए । उनले जनआन्दोलनका उपलब्धि खोस्न प्रतिक्रियावादीले चलखेल गरे पनि समाजवादी मोर्चाले गरेको प्रदर्शनबाट उनीहरु अत्तालिएको बताए ।

सोही सभामा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले अशोक कोइरालासँग विद्यार्थी राजनीतिबाटै सँगै राजनीति सुरु गरेको उल्लेख गर्दै बाँके, कोहलपुरको विकासका लागि मरिहत्ते गर्ने असल सहयात्री योद्धा गुमाएको बताए ।

संविधानसभा सदस्य देवराज भार, नेपाली कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेकपा माओवादीका केन्द्रीय सदस्य आइपी खरेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले स्व कोइराले बाँके–कोहलपुरको विकासका लागि पार्टी, व्यक्ति र स्वार्थभन्दा माथि उठेर निस्वार्थ लागिपर्ने सहकर्मी गुमाउनुपरेको बताए ।

सो सभामा एकीकृत समाजवादी पार्टीका उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्य दामोदरप्रसाद अर्याल, अब्दुल हुसेन खाँ, संविधानसभा सदस्य निर्मल सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सभालाई सम्बेधन गर्दै स्व कोइरालाकी धर्मपत्नी मञ्जु कोइरालाले अशोकका अधुरो सपना पूरा गर्न आफू सदैव लागिरहने भन्दै यो दुःखद घडीमा सम्झिने नेता, कर्याकर्ता, इष्टमित्र, आफ्न्तजनमा हार्दिक कृतज्ञता व्यक्त गरिन् ।

श्रद्धाञ्जली सभा नेकपा (एकीकृत समाजवादी) बाँकेका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको थियो भने सभा सञ्चालन पार्टी सचिव दिपक जिएमले गरेका थिए ।

प्रतिक्रिया