धरौटीमा छुटेका रवि उच्च अदालतको आदेशमा पुनः पक्राउ

न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउँछु । ममाथि ठुलो अन्याय भएको छ । – रवि लामिछाने

काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना आरोपमा जिल्ला अदालतको आदेशबमोजिम १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पुनः प्रक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार अबेर साँझ पक्राउ गरेको हो । उनलाई शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ भने आज शनिबार विमानमार्फत् भैरहवा लगिनेछ ।

गत माघ १३ मा १ करोड रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका उनलाई उच्च अदालत तुलसीपुरको रुपन्देही इजलासले पुनः पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो । आदेशलगत्तै लामिछानेलाई पक्राउ गर्न उनको निवास बुढानीलकण्ठमा प्रहरी टोली पुगेको थियो । त्यसपछि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफैँले गिरफ्तारी दिने बताएका थिए ।

गिरफ्तार हुनुअघि आफूले अदालतको आदेशको सम्मान गर्ने र न्यायालयका अन्य विकल्प खोज्ने प्रतिक्रिया दिँदै उनले आफूमाथि अन्याय भएको टिप्पणी गरे । ‘न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढक्याउँछु । ममाथि ठुलो अन्याय भएको छ,’ उनले फेसबुकमा लेखेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते न्यायाधीश प्रह्लादकुमार योगीको इजलासबाट रविलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने र छविलाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, छविलाई थुनामा राखे पनि उस्तै कसुरमा रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो ।

यता, लामिछानेले पनि जिल्ला अदालतले माग गरेको १ करोड धरौटी बढी भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । दुवै निवेदनमा बिहीबारदेखि सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबार साँझ अदालतले सरकारी वकिलको मागअनुसार रवि र छविलाई थुनामा पठाउने आदेश गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ४२ जनामाथि सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।

प्रतिक्रिया