काठमाडौँ । शुक्रबार थाइल्यान्डको राजधानी बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्दै आएको थियो ।
विशेष गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओली र मोदीबीच भेट गराउन निकै पहल गरेकी थिइन् । हुन त ६ महिनाअघि न्युयोर्कमा पनि उनीहरूबीच भेटघाट भएको थियो, तर त्यो एउटा औपचारिकता मात्र थियो । शुक्रबार बैंककमा भएको भेटवार्तालाई भने नेपालको कूटनीतिक सफलता र सम्बन्ध सुधारको नयाँ आयामका रूपमा हेरिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ताका लागि दुवै पक्षले समय व्यवस्थापन गरेका थिए । करिब ४५ मिनेटसम्म ओली र मोदीको ‘वान् टू वान्’ वार्ता चलेको थियो ।
एक्लाएक्लै बसेका उनीहरूबीच कुन विषयमा छलफल भयो भन्ने कुरा दुवै देशको तर्फबाट आधिकारिक रूपमा आइसकेको छैन । तर, २ प्रधानमन्त्री मात्र रहने गरी भएको उक्त छलफलले नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत् बनाउने र अहिले देखिएका विवादमा निकास निकाल्न बाटो खोलेको परराष्ट्रविद्हरू बताउँछन् ।
विशेष गरी ओली प्रधानमन्त्री बनेको ९ महिना हुँदा पनि भारततर्फबाट भ्रमणको निम्तो आएको छैन । र, नेपालले पनि मोदीको नेपाल भ्रमण गराउन सकेको छैन । त्यसैले पनि यस भेटवार्तालाई महत्वका साथ हेरिएको थियो । शुक्रबारको भेटवार्ता यसर्थ पनि अर्थपूर्ण थियो कि, यसअघि न्युयोर्कमा २ देशका प्रधानमन्त्रीहरू भेट्दा परराष्ट्रमन्त्रीसहित पदाधिकारीहरू सहभागी भए पनि यस पटक एक्लाएक्लै भेट गरे । योसँगै लामो समयदेखि संवादहीनताको अवस्थामा रहेको २ देशबीचको सम्बन्ध फेरि ट्र्याकमा फर्किएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले जेठमा हुन लागेको ‘सगरमाथा संवाद’का लागि मोदीलाई निमन्त्रणासमेत दिएका छन् ।
भेट फलदायी र सफल भएको दुवैको प्रतिक्रिया
भेटपछि दुवै देशका प्रधानमन्त्रीले कुराकानी निकै फलदायी र अर्थपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै दुवै प्रधानमन्त्रीले भेटवार्तालाई सकारात्मकतातर्फ मोड्न खोजेका छन् । भारतीय प्रधानमन्त्री मोदीले अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिक्रिया दिए भने प्रधानमन्त्री ओलीले पनि अंग्रेजी र नेपालीसँगै हिन्दी भाषामा प्रतिक्रिया जनाए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई भारतले प्राथमिकता दिएको र प्रधानमन्त्री ओलीसँग भएको भेटवार्ता फलदायी भएको प्रतिक्रिया दिएका छन् । ओलीसँगको भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रमा छलफल गर्र्यौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुरा भएको बताएका छन् । भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ ।’
त्यसपछि मोदीसँगको भेटमा भएका कुराकानीबारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका थिए । जहाँ ओलीले भेटवार्ता सार्थक भएको र नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको जानकारी दिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग बैंककमा आत्मीय र सौहाद्र्रपूर्ण संवाद भयो । हाम्रो संवाद अत्यन्त सार्थक रह्यो । हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ । बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै द्विदेशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महवपूर्ण हुनेछ ।’
‘बिम्स्टेकले १ अर्ब ८० करोड जनताको सामूहिक आकांक्षा समेट्छ’
बिम्स्टेक शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको र नेपालका लागि यो जोखिम अझ बढी रहेको बताए । प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको उल्लेख गरे ।
त्यस्तै, आर्थिक असमानता, वातावरणीय जोखिम र राजनीतिक अनिश्चितताका चुनौतीका बीचमा बिम्स्टेकलाई कुशलतापूर्वक अघि बढाउनु आवश्यक रहेको बताउँदै क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न जरुरी रहेको बताए । बिम्स्टेकले २ गतिशील क्षेत्रहरू दक्षिण एसिया र दक्षिणपूर्वी एसियाबीचको एक अद्वितीय सहकार्यको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै यसले १ अर्ब ८० करोडभन्दा बढी जनताको सामूहिक आकांक्षालाई समेट्ने बताए ।
काठमाडौँमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले शिक्षा, सीप विकास र क्षमता अभिवृद्धिमा क्षेत्रीय सहयोगको महत्वमा जोड दिएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले क्षेत्रीय अन्तरआबद्धता समृद्धिको खोजीमा एक महत्वपूर्ण स्तम्भ रहेको उल्लेख गरे । बिम्स्टेकभित्र भिसा–अन–अराइभल नीतिले यात्रालाई सहज बनाउन र गहिरो क्षेत्रीय सम्बन्धलाई बढावा दिन एउटा गेम–चेन्जर हुने ओलीको भनाइ थियो । ‘हामीले इकमर्स, सीमापार भुक्तानी र विद्युतीय शासनलाई सहज बनाउन डिजिटल एकीकरणलाई प्राथमिकता दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
बैंकक सोचपत्र २०३० जारीसँगै सकियो सम्मेलन
बिम्स्टेकको छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित गरेको हो ।
आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राले पारित प्रस्ताव बैंकक सोचपत्र २०३० का बारेमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गरेकी थिइन् । प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू छन् । शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया