सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजा र जनताकोबीचको संघर्षमा अन्ततः जनताको जित हुने बताएका छन् । पार्टीको बागमती प्रदेश समितिद्वारा शुक्रबार खुसिबुँस्थित नेपा ब्यांक्वेटमा ‘पुर्नउत्थानवादी गतिविधिहरुको विरोध गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ भन्ने नाराका साथ वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘नेपालको इतिहासमा पनि राजा र जनताको संघर्ष पटक–पटक देखिएको छ, २००७ सालको क्रान्तिदेखि २०६२र६३ को आन्दोलनसम्म जनताले नै राजतन्त्रलाई परास्त गर्दै लोकतान्त्रिक प्रणाली स्थापना भएको हो,’ उनले भने, ‘अहिले नेपालमा गणतन्त्र स्थापनापछि पनि कहिलेकाहीँ राजसंस्थाको पुनःस्थापनाको बहस उठ्ने गर्छ, तर संसारको ऐतिहासिक अनुभवले देखाएको छ, अन्ततः जनता नै निर्णायक शक्ति हुन्छ ।’
अध्यक्ष श्रेष्ठले, गएको खोलो फर्किँदैन भन्दै अब देशमा राजा नफर्किने बताए । नेपालमा स्थापित गणतन्त्र स्थायी भइसकेको उल्लेख गर्दै उनले नेपालले २०६२–६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरिसकेको छ बताए । ‘संविधानसभाबाट २०७२ सालमा जारी संविधानले गणतन्त्रलाई संस्थागत गरिसकेको छ, यसले लोकतन्त्र र जनताको सर्वोच्चतालाई पुष्टि गर्छ, यद्यपि कहिलेकाहीँ राजसंस्थाको पुनःस्थापनाबारे बहस उठ्ने गर्छ, तर इतिहास हेर्दा एक पटक परिवर्तन भइसकेपछि त्यसलाई फर्काउने सम्भावना अत्यन्त न्यून हुन्छ’, श्रेष्ठले भने ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष श्रेष्ठले देशमा पछिल्लो समय बढ्दै गएको पुर्नउत्थानवादी प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए । उनले संविधानको मर्म र भावना विपरीत भइरहेका गतिविधिहरुलाई रोक्न पार्टी संघर्षरत रहेको समेत उल्लेख गरे । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूको मन्त्रिमण्डलको अवधारणालाई लागू गर्नुपर्नेमा समेत उनले जोड दिए । नेपालमा सुशासन, विकास र समृद्धि अहिलेको प्रमुख बहसको विषय भएको उनको धारणा रहेको थियो ।
चैत १५ गते तिनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्ररूप लिएको, पत्रकार सुरेश रजकको हत्या भएको र गणतन्त्रविरोधी नाराहरू लागेका विषय हाल नेपाली राजनीतिमा निकै चर्चित र विवादास्पद रहेको उनले ठोकुवा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहअध्यक्ष एवं पूर्वमन्त्री रेणु यादवले देशको भविष्यबारे प्रश्न उठाउँदै लोकतान्त्रिक प्रक्रियालाई नै सबैभन्दा सुन्दर व्यवस्था भएको बताइन् । नेपालको इतिहास हेर्दा जनताले विभिन्न आन्दोलनमार्फत व्यवस्था परिवर्तन गर्दै आएको भन्दै उनले चाहे त्यो राणा शासनको अन्त्य होस्, पञ्चायत हटाएर बहुदलीय व्यवस्था ल्याउनु होस्, वा गणतन्त्र स्थापनाका लागि भएको संघर्ष होस्, यी आन्दोलनहरुमा कैयौँ नागरिकले आफ्नो जीवन उत्सर्ग गरेको बताइन् ।
सो अवसरमा जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई जोगाउन प्रदेशस्तरीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रदेश समितिको क्रियाशीलताबारे जानकारी गराए । उनले पुर्नउत्थानवादी शक्तिहरूलाई परास्त गर्न जनस्तरबाट सचेतना अभियान चलाउन आवश्यक रहेको औँल्याए । कार्यक्रममा जसपाका विभिन्न नेताहरूले हाल देशमा देखिएका राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीहरुबारे आ–आफ्नो धारणा राख्दै सरकारको कार्यशैलीप्रति आलोचना गर्दै संघीयता विरोधी गतिविधिहरुलाई निष्क्रिय पार्न सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
जसपा बागमती प्रदेश अध्यक्ष जय गोलेको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिका रुपमा पार्टीका केन्द्रिय समितिका सहअध्यक्ष एवं पूर्वमन्त्री रेणु यादव, महासचिव एवं पूर्वमन्त्री इस्तियाक राइ, समाजवादी किसान महासंघका केन्द्रिय अध्यक्ष भाग्य नारायण राय, उपाध्यक्ष तबरेज अहमद, पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादव लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी थापाले राखेकी थिइन् भने उद्घोषण अर्जुन कुवँरले गरेका थिए ।
प्रतिक्रिया