फेरि नबल्झियोस् भुटानी शरणार्थी समस्या

अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकी अभियानको प्रत्यक्ष मात्र होइन परोक्ष असर पनि नेपालले बेहोर्नुपरेको छ । अमेरिकाले विभिन्न आरोपमा भुटान डिपोर्ट गरेका १० भुटानी शरणार्थीमध्येका ७ जना त्यहाँबाट पनि निकाला गरिएपछि भारत हुँदै नेपाल भित्रिने क्रममा पक्राउ परेका छन् । भुटान सरकारले बस्न नदिएका कारण आफूहरू पुनः शरणार्थीका रूपमा नेपाल आउन बाध्य भएको उनीहरूको भनाइ सुन्दा नेपालले यो समस्यालाई कुनै पनि हालतमा सामान्य रूपमा लिन मिल्दैन । यस मामिलामा विगतको तितो अनुुभवबाट पाठ सिक्नु जरुरी छ । किनकी भुटानका नेपाली भाषी नागरिकलाई लखेट्ने अभियान विगतमा त्यहाँको राज्यसत्ताले सुरु गरेको थियो । यसरी लखेटिएका १ लाखभन्दा बढी भुटानी भारतीय भूमि हुँदै शरणार्थीका रूपमा नेपाल भित्रिन दिएर नेपालले गम्भीर गल्ती गरेको थियो । त्यो गल्ती नेपालका लागि अहिलेसम्म पनि टाउको दुःखाइको विषय बनिरहेको छ ।

भुटान नेपालसँग सीमा जोडिएको देश होइन । तैपनि त्यतिबेला हजारौँ हजार भुटानीहरू भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङका शरणार्थी शिविरमा बसेका थिए । सरकारी तथ्यांकअनुसार शरणार्थीको संख्या करिब १ लाख २० हजार पुगेको थियो । जसमध्ये सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना अमेरिका, क्यानडा लगायतका तेस्रो मुलुकमा पुनस्थापना भएका थिए । त्यसबाहेक भुटानी शरणार्थीका रूपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालका शिविरमा छन् । शिविरमा बाँकी रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउन विभिन्न कारण नेपाललाई अहिले पनि सकस परिरहेको छ । यस्तोे अवस्थामा अमेरिकामा पुनर्वास भइसकेकाहरू समेत डिपोर्ट भएर फेरि शिविरमा आउन थाले भने नेपाल थप समस्यामा पर्ने निश्चित छ ।

यसरी डिपोर्ट भएर आएका भुटानीहरूलाई नेपाल प्रवेश गराउने र शरणार्थी शिविरमा राख्ने गल्ती सरकारले कुनै पनि हालतमा पनि गर्नु हुँदैन । भोलि थप भुटानी शरणार्थीहरू डिपोर्ट हुन पनि सक्छन् । अर्कोतर्फ भुटान सरकार त्यहाँ रहेका नेपाली भाषी नागरिकहरूसँग अनुदार छ । अहिले नेपालले सरक्क ती शरणार्थीलाई बुझ्ने हो भने भोलि भुटानी शरणार्थी प्रकरण–२ सुरु नहोला भन्न सकिँदैन । विगतमा मानवीयताको नाताले हामीले शरण दियौँ । तर, हामीले निर्वाह गरेको कर्तव्यलाई कमजोरी ठान्दै भुटानले आफ्ना थप नागरिक लखेट्यो । त्यहाँको राज्यसत्ताले निष्काशन गरेका नागरिक थन्क्याउने ठाउँ नेपाल होइन । यो मामिलामा नेपालले भुटान, भारत तथा अमेरिकासँग यथाशीघ्र कूटनीतिक पहल थाल्नुुपर्छ ।

भुटान सरकारले राजनीतिक प्रतिशोधका कारण लखेटेकोले नै उनीहरूलाई संयुक्त राष्टसंघले शरणार्थीको मान्यता दिएको यथार्थलाई बिर्सन मिल्दैन । अमेरिकाले पनि भुटानी शरणार्थी हुुन् भन्ने जानेर बुझेरै आफ्नो देशमा पुुनर्वास गराएको हो । शरणार्थीलाई के कति कारणले डिर्पोट गरियो, त्यो उसको आन्तरिक मामिला हो । तर भुटानले आफ्ना नागरिक स्वीकार गरेर बुझिसकेपछि फेरि देश निकाला गरिएको व्यवहार अमेरिकाजस्तो मानवअधिकार बुझेको मुलुकले गम्भीरतापूर्वक लिनु उचित हुनेछ । अमेरिकाले चाहने हो भने त्यसरी डिपोर्ट गरिएका भुटानीलाई देश निकाला नगर्न खबरदारी गर्न सक्छ । अमेरिकाको खबरदारी भुटानका लागि वाध्यकारी हुनसक्छ । नेपालले यो कुरा अमेरिकालाई भन्न सक्नुपर्छ । डिपोर्ट गरिएका नागरिकलाई अमेरिकी अधिकारीको रोहबरमा बुझबुझारथ गरेर भोलिपल्टै देश निकाला गर्नुले भुटानको नियत ठिक छैन भन्ने स्पष्ट देखिन्छ । यस विषयमा नेपालले तत्काल भारतसँग कुरा राख्नुपर्छ । भारतको असहयोगकै कारण विगतमा भुटानी शरणार्थी समस्या नेपालले झेल्नुपरेको यथार्थलाई बिर्सनु हुन्न । भुटानको परराष्ट्र र रक्षा मामिलाको जिम्मेवारी लिएको भारतले उसलाई आफ्ना नागरिक देशनिकाला नगर भन्न सक्नुपर्छ । यो कुरा नेपालले भारतका प्रधानमन्त्री मोदीलाई स्मरण गराउनु आवश्यक छ ।

प्रतिक्रिया