अलग्गै तहगत विद्यालय हुँदा सम्बन्धित तहका विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा विद्यालयको अवसर निकै सहयोगी साबित हुन सक्छ । यसको लागि सक्षम नेतृत्व र वातावरण पनि उत्तिकै आवश्यक हुन्छ । तहगत विद्यालयको अवधारणा व्यवहारमा लागू भएमा सम्बन्धित तहका विद्यालयहरू सक्षम बन्दै वास्तविक शिक्षालयमा परिणत हुने अवसर पाउँछन् ।
अहिले कानुनमा आधारभूत र माध्यमिक गरी २ तहको विद्यालय रहेको भए पनि कक्षा ५ सम्म प्राथमिक, ८ सम्म निम्नमाध्यमिक, १० सम्म माध्यमिक र १२ सम्मको उच्चमाध्यमिक गरी पढाइ हुने गरेको छ । यस दृष्टिकोणले विद्यालय तहमा कम्तीमा ४ किसिमका विद्यालयहरू व्यवहारमा रहेका छन् ।
घट्दो जनसंख्या र आन्तरिक आप्रवासनले मुख्य रूपमा प्राथमिक तहका सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ । ग्रामीण क्षेत्रको तीव्र बजारीकरणले बजार तथा चोकचोकमा खुलेका संस्थागत विद्यालय (बोर्डिङ) मा साना बालबालिकालाई अभिभावकले भर्ना गरी पढाउने एक किसिमको रहर र लहर नै चलेको छ । कम्तीमा ५ वर्ष त छोराछोरीलाई बोर्डिङमा पढाउनुपर्छ भन्ने सोचाइ ग्रामीण क्षेत्रका निम्न वर्ग र अशिक्षित अभिभावकसम्म बिस्तार भइसकेको कारणले पनि सामुदायिक प्राथमिक तहका विद्यालयमा तुलनात्मक आकर्षण हुन नसकेको हो ।
नेपालको शिक्षाको इतिहासमा सामुदायिक विद्यालय सुधारका धेरै मोडेल परीक्षण भइसकेका छन् । यद्यपि त्यस्ता कुनै मोडेल पनि स्पष्ट रूपमा सफल हुन सकेका छैनन् । त्यसैले अब तहगत विद्यालयको मोडेलमार्फत् अघि बढ्नु पर्ने आवश्यकता खड्किएको छ । तहगत विद्यालयमा सम्बन्धित तहसम्म मात्र पढाइ हुने व्यवस्था गर्नुपर्छ । प्राथमिक तहको विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुँदै आएको छ तर निम्नमाध्यमिक तहको विद्यालयमा भने १ देखि ८ कक्षासम्म पठनपाठन हुन्छ । अब निम्नमाध्यमिक तहको विद्यालयमा निम्नमाध्यमिक तह अर्थात् कक्षा ६ देखि ८ सम्म मात्र पठनपाठन हुने व्यवस्था र व्यवस्थापन हुनु जरुरी छ ।
यसै गरी माध्यमिक तहको विद्यालयमा कक्षा ९ देखि १२ सम्म मात्र पठनपाठन हुने व्यवस्था र व्यवस्थापन आवश्यक छ । विद्यालयको नाममा माध्यमिक वा उच्च माध्यमिक हुने तर पठनपाठन १ कक्षादेखि नै हुने हुँदा केही विद्यालयमा त राम्रै होला तर अधिकांश विद्यालयमा भने तल्लो कक्षामा पठनपाठन खासै नहुने हुनाले विद्यार्थीको चाप निकै कम हुन्छ । अभिभावकको आकर्षण हुँदैन । अभिभावकको दृष्टिमा पनि माथिल्लो तहको विद्यालयमा तल्लो तहमा अध्यापन गर्ने शिक्षकप्रति आकर्षण रहेको पाइएको छैन । जुन तहको विद्यालय छ, सोही तहको शिक्षकप्रति अभिभावकको लगाव रहने गरेको पाइएको छ । यसविपरीत प्राथमिक तहको अलग्गै विद्यालय हुँदा सम्बन्धित विद्यालयका शिक्षकप्रति स्थानीय अभिभावकको उच्च सम्मान हुने गरेको छ । अभिभावकहरू शिक्षकका नजिक हुन चाहने यस किसिमको मनोवैज्ञानिक प्रवृत्ति सामान्य भइसकेको छ । विद्यार्थीलाई गुणस्तरीय पढाइ र शिक्षकलाई सम्मान दुवै दृष्टिकोणले हरेक तहको छुट्टाछुट्टै विद्यालयीय संरचना वर्तमानको आवश्यकता हो ।
विद्यालयमा पहुँचसँगै शिक्षण–सिकाइको गुणस्तरको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । त्यसका लागि तहगत सक्षमता पनि अत्यन्त आवश्यक विषय हो । विद्यार्थीहरू प्राथमिक तहमा सक्षम नभइकन निम्न माध्यमिक तहमा र निम्न माध्यमिक तहमा सक्षम नभइकन माध्यमिक तहमा पुगिरहेका छन् । एकै विद्यालयमा सबै तह भएको अवस्थामा तहगत मूल्यांकनमा ध्यान दिन नसकिएको हो ।
कतिपय पालिकाले आधारभूत तहको अन्तिम परीक्षामा कडाइ गरेपछि विद्यार्थी सक्षमताको वास्तविकता बाहिरिएको थियो । वास्तवमा तहगत सक्षमताको लागि तहगत विद्यालय नै आवश्यक देखिएको छ । माध्यमिक तहको विद्यालयमा प्राथमिक तहका बालबालिकाको कुनै पनि दृष्टिकोणले नेतृत्व विकासको अवसर हुँदैन । विद्यालय तहको प्रतियोगितामा आलंकारिक सहभागिता हुन पनि सजिलो हुँदैन । जहिले पनि माथिल्लो तहका विद्यार्थीको दबदबा रहन्छ । तल्ला तहका विद्यार्थीमा प्रतिस्पर्धात्मक भावनाको विकास नै हुन पाउँदैन । सिर्जनात्मक गुणको विकास गर्ने, तुलना गर्ने तथा प्रोत्साहन पाउने अवसरको निकै अभाव हुन्छ । जहिले पनि विद्यालयस्तरीय कुनै कार्यक्रमको आयोजन हुँदा तल्ला तहका विद्यार्थीहरूलाई ताली बजाउनुपर्ने कामभन्दा अन्यमा खासै सहभागिता देखिँदैन ।
यसकारण अलग्गै तहगत विद्यालय हुँदा सम्बन्धित तहका विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा विद्यालयको अवसर निकै सहयोगी सावित हुन सक्छ । यसका लागि सक्षम नेतृत्व र वातावरण पनि उत्तिकै आवश्यक हुन्छ । तहगत विद्यालयको अवधारणा व्यवहारमा लागू भएमा सम्बन्धित तहका विद्यालयहरू सक्षम बन्दै वास्तविक शिक्षालयमा परिणत हुने अवसर पाउँछन् ।
हामीकहाँ तहगत विद्यालयको अवधारणा निकै कमजोर छ । यसैको फलस्वरूप जहिले पनि प्राथमिक तहको विद्यालय निम्नमाध्यमिक तहमा र निम्नमाध्यमिक तहको विद्यालय माध्यमिक तहमा स्तरोन्नतिका लागि प्रयत्नरत रहने गरेका छन् । विद्यालयको तह र कक्षा उकासिने तर सोअनुसारको शिक्षकको व्यवस्था तत्काल नहुने हुँदा तल्लो तहकै शिक्षकले माथिल्लो तहको कक्षाको अध्यापन गराउनुपर्ने हुन्छ जसले गर्दा भुइँको टिप्दा खल्तीको पनि झर्ने काम भइरहेको हुन्छ ।
हठात् स्तरोन्नतिको अवसर पाएका कतिपय विद्यालय यस्ता छन्, जहाँ प्राथमिक तहको शिक्षकले माध्यमिक (उच्च माध्यमिक पनि) तहको नेतृत्व सम्हालिइरहेका छन् । विद्यालयको नेतृत्वका लागि राजनीतिक तथा जातीय संरक्षण र सन्तुलन अपरिहार्य भइसकेको छ । यसले गर्दा विद्यालयको जुन मूल उद्देश्य हो, त्यसको गतिविधिमा नकारात्मक प्रभाव परिरहेको पनि देखिएको छ । तहगत विद्यालयको अवधारणा लागू भएमा कम्तीमा पालिकास्तरीय तहगत सिर्जनात्मक तथा खेलकुद र अन्य प्रतिस्पर्धाको वातावरण बन्दछ र बालबालिकाले पहिचानको अवसर पाउने सम्भावना पनि बिस्तार हुँदै जान्छ ।
विद्यालय शिक्षामा अर्को व्यावहारिक अवधारणा प्रतिस्पर्धात्मक गुणको विकासको हो । शिक्षाको राष्ट्रिय उद्देश्यले पनि विद्यार्थीमा प्रतिस्पर्धात्मक गुणको विकास गर्ने कुरालाई स्वीकार गरेको छ । तर, आफ्नो प्रतिस्पर्धा आफैँसित हुन सक्ने गरी व्यवहारमा लागू हुन सकेको छैन । हरेक कक्षामा १ वर्ष अर्थात् १ शैक्षिकसत्र अनिवार्य रूपमा बस्नुपर्ने वर्तमान अवधारणामा संशोधन गरी कोही विद्यार्थी एकै वर्षको कोर्स १ महिना वा २ महिनामा नै पूरा गर्ने सामथ्र्य राख्दछन् भने त्यस्ता विद्यार्थीलाई मौका दिने गरी व्यवस्था गर्नु वाञ्छनीय भइसकेको छ । यदि प्राथमिक तह ५ वर्षको छ भने कोही मेधावी विद्यार्थीले प्राथमिक तह उत्तीर्ण गर्नको लागि २ वा ३ वर्षमै परीक्षा दिन चाहन्छन् भने मौका दिइनुपर्छ । निम्न माध्यमिक तह ३ वर्षको रहेको ठाउँमा मेधावी विद्यार्थीले चाहेको जस्तो एकै वर्षमा २ वा ३ वटै कक्षा उकासिने मौका दिइनुपर्छ । माध्यमिक तहको सबालमा पनि प्रतिस्पर्धात्मक शिक्षाको अवधारणालाई व्यावहारिक रूप दिन सकिन्छ । हो, यस प्रकारका परीक्षार्थीका लागि केही सर्तहरू राख्न सकिन्छ कि, जस्तो कि कम्तीमा प्रथम श्रेणी वा विशिष्ट श्रेणी बराबरको ग्रेड चाहिन्छ । यसैगरी एकपटकका लागि मात्र सम्बन्धित निकायले परीक्षा व्यवस्थापन गर्नसक्ने र बाँकी परीक्षाको व्यवस्थापनमा सम्बन्धित विद्यार्थीको सहभागिता पनि सुनिश्चित गर्नुपर्ने हुन्छ । यस प्रकारको प्रतिस्पर्धात्मक शिक्षाको अवधारणाले विदेशबाट पनि मेधावी विद्यार्थीहरू नेपालमा अवसरको लाभ उठाउन आउन सक्छन् । ४ वर्षको कोर्स २ वर्ष वा ३ वर्षमा पूरा गर्नेको आत्मसम्मानमा वृद्धि हुने मात्र होइन, अझ बढी प्रतिस्पर्धात्मक बनाउन आफैँलाई र अरूलाई पनि प्रेरित गर्न सक्छन् ।
तहगत विद्यालय र शिक्षामा आन्तरिक प्रतिस्पर्धात्मकताका लागि लगानीमा खासै वृद्धि नगर्दा पनि हुन्छ । तहगत विद्यालय हुँदा सम्बन्धित तहका विद्यालयहरूमा पनि प्रतिस्र्धात्मक क्षमताको विकास हुन्छ । अहिले माध्यमिक तहको नतिजाको मात्र समाजमा विश्लेषण हुने गरेको सन्दर्भलाई हेर्दा तहगत विद्यालयको प्रतिस्पर्धाले सम्बन्धित पालिकामा विभिन्न तहको विद्यालयमा कुन सामुदायिक विद्यालयको स्तर कस्तो छ भन्ने विश्लेषणको युग पनि आरम्भ हुन्छ । पालिकाले विद्यार्थीको नतिजा विश्लेषण, विद्यालयहरूको मूल्यांकन, तहको मूल्यांकन तथा शिक्षाको स्तर र प्रभावबारे सजिलोसित विश्लेषण गरी नीति निर्माण गर्न सजिलो हुन जान्छ । राज्यले पनि लगानीअनुसारको तहगत नतिजा विश्लेषण र गुणस्तरको अन्य पक्षमाथि विश्लेषण गर्न सजिलो हुन्छ । अनि पालिका वा प्रदेशलाई शिक्षा हस्तान्तरण गर्दा कुन तहको विद्यालय कुन पालिका वा प्रदेशमा हस्तान्तरण गर्न गुणस्तरीय आधारहरू तयार भइसकेका छन्, भन्ने तथ्य विश्लेषणमा पनि सहयोग पुग्ने हुन्छ । यसैगरी सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको नेतृत्व क्षमताको विकास, व्यक्तित्वको विकास र भविष्यप्रति आफूलाई विश्वस्त बनाउनका लागि यी दुवै कुराले सकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया